बिर्तामोड , चैत २३ ।आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि संघीय सरकारले तयार गर्न लागेको बजेटको पूर्वतयारीका सन्दर्भमा झापामा छलफल गरिएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ झापाको आयोजनामा आज विर्तामोडमा आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालको सहभागितामा निजी क्षेत्रका प्रतिनिधिहरु बीच आगामी बजेटको पूर्वतयारीबारे अन्तरक्रियात्मक छलफल गरिएको हो ।
छलफलमा उद्योगी–व्यवसायीहरुले अर्थतन्त्रको वर्तमान खस्कँदो अवस्थालाई मध्यनजर गर्दै आगामी बजेटको मस्यौदा तयार गर्नुपर्ने बताए । उनीहरुले हाल उद्योग पूर्ण क्षमतामा सञ्चालन नभइरहेको र व्यवसाय पनि सन्तोषजनक ढंगले चलायमान हुन नसकिरहेको अवस्थालाई बुझेर करहरुको तर्जुमा गर्नुपर्ने सुझाव दिएका थिए ।
उद्योगी–व्यवसायीहरुले सरकारको आर्थिक नीति, करको प्रक्रिया र कतिपय अवस्थामा दोहोरो–तेहरो करका कारण उद्योगी–व्यवसायी हतोत्साही हुने गरेको गुनासो गर्दै नीति–नियम उद्योग–व्यवसायमैत्री बन्न सके मात्र आर्थिक गतिविधिलाई गति दिन सकिने उल्लेख गरे । कार्यक्रममा महानिर्देशक दाहाल तथा निजी क्षेत्रका व्यवसायीहरुबीच प्यानल डिस्कसन गराइएको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघकी सञ्जिता नेपालले सहजीकरण गरेको प्यानल डिस्कसनमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ केन्द्रीय अध्यक्ष अरुण राउत, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण विमली र चार्टर्ड एकाउन्टेन्ट्स शैलेन्द्र उप्रेती सहभागी थिए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ झापाका अध्यक्ष सीए सुशीलकुमार अग्रवालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीले कर असुली वा कर दाखिलाको झन्झटिलो प्रक्रियाले साना तथा कम जानकार उद्योगी–व्यवसायी बढी मारमा परेको गुनासो गरेका थिए ।
महानिर्देशक दाहालले उद्योगी–व्यवसायीहरुको तर्फबाट गहन सुझाव प्राप्त भएको भन्दै आएका सुझावहरुलाई आगामी बजेटका सन्दर्भमा विभिन्नस्तरमा हुने छलफलमा आफूले प्रस्तुत गर्ने र सुझावहरु सम्बोधन हुने गरी बजेट तर्जुमाका लागि आफूले पहल गर्ने बताए ।
सो अवसरमा दाहाललाई आन्तरिक राजश्व विभागको महानिर्देशक नियुक्त भएकोमा बधाइ–शुभकामनासहित सम्मान गरिएको थियो । महानिर्देशक दाहाललाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ केन्द्रीय समिति, झापा कार्यसमितिसहित, अडिटर्स एशोसिएसन अफ झापा, झापा उद्योग संघ, नेपाल अलैची व्यवसायी महासंघ, मेची डिस्ट्रिव्यूटर्स एशोसिएसन, क्लाइन्ट एशोसिएसन अफ झापा, मेची उद्योग वाणिज्य संघ, नेपाल भेनियर उत्पादक संघ, प्लाइउड उद्योग संघ, मारवाडी सेवा समिति विर्तामोड, भद्रपुर मारवाडी संघलगायतले मायाको चिनो प्रदान गर्दै सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ केन्द्रीय अध्यक्ष अरूण राउतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल अडिटर्स एशोसिएसन अफ झापाका अध्यक्ष पर्शुराम वुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवसायी शिवकुमार अग्रवालले गरेका थिए ।