झापा,चैत २४ । करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ ।

गत मंसिर २८ गतेदेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आइतबारबाट हवाइ उडान सुरु भएको हो ।
नेपाल वायु सेवा निगमको जहाजले आजबाट काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान सुरु गरेको छ ।
शुक्रबार तालिका तय भए पनि प्राविधिक समस्याका कारण आइतबारका लागि उडान सारिएको थियो । काठमाडौंबाट पाँच जना यात्रु लिएर आएको नेपाल वायु सेवा निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिए ।
उनका अनुसार ताप्लेजुङबाट पुरुष चार र महिला दुई जना गरी ६ जना काठमाडौं प्रस्थान गरेका छन् ।
गत चैत १६ गते शनिबारदेखि उडान गर्ने तालिका अनुसार जहाज आए पनि अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौं फर्किएको थियो । जसका कारण १० जना यात्रु लिएर आएको जहाज भिजिबिलिटी कम भएकाले अवतरण हुन सकेको थिएन । सो उडान सफल हुन नसक्दा ताप्लेजुङबाट उपचारका लागि काठमाडौंबाट हिँडेका चार जना यात्रु प्रभावित भएका थिए ।
नेपाल वायु सेवा निगमको दुई वटा जहाज ग्राउण्डेड भएपछि चार महिनादेखि हवाई उडान ठप्प भएको थियो । तत्कालका लागि हाल सातामा एक दिन मात्रै उडान तय भएको थियो । आगामी उडान तालिका तत्काल आई नसकेको निगमले जनाएको छ । सातामा एक दिनमा उडान तालिका राख्दै आएको र वैशाखपछि थप गरिने तयारीमा रहेको बताइएको छ ।
मौसमका कारण पटक–पटक जहाज अवतरण हुन नसक्दा आवतजावत गर्ने यात्रुको संख्यामा कमी भएको निगमले उल्लेख गरेको छ । अवतरण अनिश्चित बन्दा यात्रुको संख्यामा कमी आउने गरेको छ ।