झापा,चैत २४ । पूर्वको पर्यटकीय गन्तव्यका रूपमा रहेको धनकुटाको भेडेटारमा पछिल्लो समय भारतीय पर्यटक आउने क्रम बढेकोे छ ।


भेडेटारनजिकै रहेको नमस्ते झरना, नाम्जेमा रहेको होमस्टे र त्यस आसपासका होटेल यतिबेला भरिभराउ हुने गरेको होटेल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बूले बताए । विश्वमा आएको कोभिड–१९ महामारीका कारण केही वर्ष मन्दीको सामना गर्नु परे पनि पछिल्लो समयमा यसले पहिलाकै जस्तो गति लिएको उनको भनाइ छ ।
प्रायः बाह्रै महिना चिसो हुने भेडेटारमा तराईको गर्मी बढ्न थालेपछि पर्यटकको संख्या बाक्लो हुने होटेल एसोसिएसन भेडेटारका पूर्वअध्यक्ष लीलाराज लावती बताउछन् । उनका अनुसार भेडेटारसहित आसपासका क्षेत्रमा सानाठुला गरी करिब दुई सय होटेल सञ्चालनमा रहेका छन् ।
पछिल्लो समय प्रदेश सरकारले पनि यस क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न सहयोग गर्दै आएको छ । यस ठाउँमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी यस्ता पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारले पूर्वाधार निर्माणमा बजेट छुट्याएर काम गर्ने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।
अहिले साँगुरीगढी गाउँपालिकामा रहेको नाम्जे थुम्कीमा जनजाति पार्क निर्माण अगाडि बढेको छ । गाउँपालिकाकै ठुलो पार्कका रूपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको हो । थुम्कीस्थित नाम्जेमा आदिवासी जनजातिको संस्कार, संस्कृतिको जगेर्ना गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा एक करोड ३५ लाख रुपियाँको लागतमा जनजाति पार्क निर्माण सुरु गरेको थियो ।

हालसम्म प्रदेश सरकारले एक करोड ४४ लाख रुपियाँ पार्कमा खर्च गरी निर्माणको काम अगाडि बढाइरहेको छ । पार्कमा एक सभा हल र विभिन्न जातिका पहिचानको प्रतिमा राख्नका लागि स्तम्भ बनाउने काम भएको छ । गाउँपालिकाको बजेटले पार्क निर्माण सम्पन्न गर्न असम्भव भएकोले प्रदेश सरकारले काम गरिरहेकोे साँगुरीगढी गाउँपालिकाका अध्यक्ष राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्