झापा, चैत २५ । रास्वपा सभापति रवि लामिछाने सोमबार जिल्ला कारागार रुपन्देही चलान भएका छन् ।

सोमबार बिहान उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट आदेशको मिसिल प्राप्त भएपछि प्रहरीले उनलाई जिल्ला अदालत पेस गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुरज कार्कीको नेतृत्वको टोलीले उनलाई अदालत पेस गरेको थियो । अदालत पु¥याउनेबित्तिकै लामिछानेलाई थुनुवा पूर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेलगत्तै कारागार चलान गरिएको हो । डीएसपी कार्कीको नेतृत्वमै लामिछानेलाई तत्काल कारागार पु¥याएको थियो ।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण पूरा गरिएको छ । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछानेमात्रै रहेको प्रशासक भण्डारीले बताए । ‘उहाँको स्वास्थ्य अवस्था नर्मल छ,’ उनले भने, ‘पूर्व गृहमन्त्री लामिछानेलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं । अहिले उक्त ब्लकमा उहाँमात्रै थुनुवा हुनुहुन्छ ।’

स्रोतका अनुसार उच्च अदालतले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेपछि जिल्ला कारागारमा उनका लागि छुट्टै कक्ष तयार गरिएको हो । लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ ।

शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा लगिएको थियो । दुई दिन बिदा भएपछि उनलाई शनिवार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।

सोमबार बिहान अदालत लैजानु अघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । त्यस्तै, जिल्ला कारागार परिसर र आसपास पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्