झापा,चैत २६ । विराटनगर महानगरपालिका–१६ दरैया हुँदै भारततर्फ खुलेआम बालुवा र गिट्टी तस्करी भइरहेको छ।

नेपाल–भारत सीमा क्षेत्रनजिकको दरैयाबाट लामो समयदेखि भारत जोगवनीको टिकुलिया बस्तीतिर मिलेमतोमा तस्करी भइरहेको हो।
दरैया–टिकुलियाबीचमा ट्याक्टरलगायत ढुवानीका साधनलाई आवतजावत गर्न सहज हुनेगरी बाटै बनाएर नदीजन्य पदार्थको नेपालबाट तस्करी भइरहे पनि नियन्त्रणका लागि सम्बन्धित निकायले चासो दिएका छैनन्।
दैनिक दर्जनौं ट्याक्टरको प्रयोग गरेर मिलेमतो र ‘सेटिङ’मा अत्यधिक तस्करी भइरहेको स्थानीय बताउँछन्। व्यापक तस्करी हुँदा पनि स्थानीयले खुलेर विरोध गर्न सक्दैनन्। डर र त्रास देखाएर तस्करको गिरोहले दबाबमा राखेको स्थानीय बताउँछन्। ‘सम्बन्धित निकायलाई सूचना दिँदा तस्करीमा संलग्न हाम्रो घर खोज्दै आइपुग्छन्। डर देखाउँदै अनेक धम्की दिएर जान्छन्। आफैं असुरक्षित भएपछि अवैध धन्दा टुलुटुलु हेरेर बस्नुको विकल्प हामीसँग छैन,’ एक स्थानीयले भने।
सीमा क्षेत्रका सर्वसाधारण निरीहजस्तै बन्नु परिरहँदा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि चैं मौन छन्। उनीहरुले अनदेखा गरिरहँदा दरैया क्षेत्रमा लामो समयदेखि तस्करको रजगज चलिरहेको छ। सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्रलाई प्रत्येक सय मिटरको दुरीमा खटाइएको हुन्छ।
सशस्त्रकै आँखा अगाडिबाट बालुवा र गिट्टी भारत तस्करी भइरहे पनि रोक्न कुनै चासो नदिनु आश्चर्यको विषय भएको स्थानीयको भनाइ छ। प्रतिबन्ध लगाउँदै सरकारले नेपालबाट नदीजन्य पदार्थ भारत लैजान रोक लगाएको छ। तर, दैनिक दर्जनौं ट्याक्टरको प्रयोग गरेर खुलेआम बालुवा र गिट्टी भारत पुर्याइन्छ।