झापा,चैत २६ । खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ ।

आकर्षक तलब, श्रमिकमैत्री कानुन र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको हो । वैदेशिक रोजगार विभागका अनुसार नेपाली रोमानिया, क्रोएसिया, माल्टा, साइप्रसलगायतका देशमा बढी जाने गरेका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा युरोपका चार वटा देशमा ३४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार गत आव २०८०÷८१ को आठ महिनाको तुलनामा चालु आवको सो अवधिसम्म युरोपका रोमानिया, क्रोएसिया, माल्टा र साइप्रस जानेको संख्या ३२ प्रतिशतले बढेको हो । चालु आवको यस अवधिसम्म ती देशका लागि ३४ हजार ३६६ जनाले श्रम स्वीकृति लिएकोमा गत आवको सोही अवधिसम्म २३ हजार ५१० जनाले श्रम स्वीकृति लिएका थिए । जुन संख्या गत आवको सो अवधिको तुलनामा चालु आवको सो अवधिमा १० हजार ८५६ जनाले बढी हो ।
वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले पछिल्ला वर्षमा नेपाली युरोपेली मुलुक रोमानिया, क्रोएसिया, माल्टा, साइप्रसलगायतका देशमा जाने क्रम बढेको जानकारी दिए । श्रम स्वीकृति नलिई भ्रमण भिसा वा अन्य माध्यमबाट जाने र उतै काम गर्नेको संख्या पनि बढेको उनको भनाइ छ । ती देशमा संस्थागत नभएर व्यक्तिगत भिसामा जाने गरेको खाडी र मलेसियाको तुलनामा लागत बढिरहेको छ ।
विभागका अनुसार संख्याका हिसाबले युरोपमा सबैभन्दा धेरै रोमानिया जाने बढेका छन् । चालु आवको यस अवधिसम्म रोमानिया जाने नेपाली १७ हजार ८३० जना रहेका छन् । जबकि गत आवको सो अवधिमा रोमानियामा सात हजार ५४४ जनाले श्रम स्वीकृति लिएर गएका थिए ।

विभागका अनुसार क्रोएसिया र साइप्रस जाने नेपालीको संख्या भने सामान्य रूपमा बढेको छ । गत आवको फागुनसम्ममा सात हजार ५०६ जना क्रोएसिया गएकोमा चालु आवको फागुनसम्म आठ हजार ८०५ जना पुगेका छन् । यस्तै चालु आवमा साइप्रसमा चार हजार ९० जना नेपाली श्रम स्वीकृति लिएका छन् । गत वर्ष यो संख्या तीन हजार ६७९ थियो । माल्टा जानेमा भने यस वर्ष दुई हजार ६४ जनाले कमी आएको छ ।

गत आवको फागुनसम्ममा चार हजार ५८३ जनाले माल्टाका लागि श्रम स्वीकृति लिएकामा चालु आवको फागुनसम्म दुई हजार ५१९ जनाले मात्रै श्रम स्वीकृति लिएको देखिन्छ । पछिल्लो दुई वर्षको आठ महिनाको प्रतिवेदन विश्लेषण गरेर हेर्दा पछिल्लो वर्ष माल्टा जानेको संख्या घटेको देखिन्छ ।

पछिल्लो समयमा जर्मनीले नेपालबाट दक्ष तथा अर्धदक्ष नेपाली श्रमिक लिन इच्छा देखाउँदै आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी पक्षसँग नेपाली श्रमिक पठाउन सक्ने सम्भावित क्षेत्रबारे अध्ययन पनि सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्