झापा , चैत २६ । बीस वर्षअघि ट्रयाक्टर दुर्घटनामा दाहिने खुट्टा गुमाएर अपाङ्ग बनेका झापा अर्जुनधारा – १ साधुटारका ६५ वर्षीय बलप्रसाद अधिकारीले निःशुल्क कृत्रिम खुट्टा पाएपछि उनको हर्षको सीमा नै रहेन ।

बैशाखी टेकेर अग्रसेन भवन छिरेका अधिकारी कृत्रिम खुट्टा लगाएपछि बिनाबैशाखी ठमठम हिँड्दै घर फर्किए । अर्जुनधारामा बाँस बोकेको ट्रयाक्टर पल्टिएर मुनि थिचिएका अधिकारीको ज्यान त जोगियो , तर उनले दाहिने खुट्टा गुमाउनु पर्यो । त्यसपछि उनले बीस वर्षसम्म अपांगको जीवन जिउनु पर्यो । कृत्रिम खुट्टा पाएपछि उनले नयाँ जीवन पाएका छन् । त्यस्तै अर्जुनधाराकै कौशिला रेग्मी पनि निःशुल्क कृत्रिम खुट्टा पाएपछि अत्यन्त हर्षित भइन् । अरु धर्मकर्म छोडेर यस किसिमको मानवीय सेवा गर्न भगवानले सँधै प्रेरणा दिइरहोस् भन्दै उनले आयोजकलाई ह्रदयदेखि नै धन्यवाद दिइन् । विर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन भवनको रजत महोत्सवको अवसरमा उनीजस्तै खुट्टाको अपाङ्ता भएका २६ जनाले नयाँ जीवन पाएका हुन् । उनीहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको हो ।

शिवसताक्षीका तोयानाथ भट्टराई , कचनकवलका भवानीशंकर दाहाल , बुद्धशान्तिकी चपेटी चेम्जोङ , सोही पालिकाका सुशिलकुमार धिमाल , हल्दिवारीकी पूर्णिमाया खड्का , इलाम चुलाचुलीका कर्णबहादुर राई , शिवसताक्षीका युवराज श्रेष्ठ , कचनकवलका राजु शर्मा , बाह्रदशीकी बसन्ती राजवंशी , हल्दिवारीका डल्लु सार्की , मेचीनगरका जितबहादुर भण्डारी , अर्जुनधाराका अलिफ नूर महमद , शिवसताक्षीका कृष्णबहादुर राई , हल्दिवारीका भोला शर्मा , अर्जुनधाराकी धनमाया तमाङ्गी , मेचीनगरका हरिप्रसाद मिश्र , अर्जुनधाराका सूर्यबहादुर बस्नेतले पनि निःशुल्क कृत्रिम खुट्टा पाएका छन् । अन्यले एक–एक वटा खुट्टा पाएकोमा दुवै खुट्टा गुमाएका शिवसताक्षीका कृष्णबहादुर राईले दुईवटै कृत्रिम खुट्टा पाएका छन् ।

भवनको नवनिर्मित माथिल्लो तलाको माधवी ब्याङक्वेट हलमा शिविरको आयोजना गरी २६ जनालाई कृत्रिम खुट्टा वितरण गरिएको हो । आर्थिक अभावमा कृत्रिम खुट्टा लगाउन नपाएकाहरुलाई छनोट गरी उनीहरुलाई शिविरमै नाप अनुसार स्वास्थ्य प्राविधिकको सहयोगमा खुट्टा लगाइएको अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले जानकारी दिए । उनका अनुसार २६ जनामध्ये १६ जनाको कृत्रिम खुट्टा शिविरमै लगाइएको छ भने ८ जनालाई काठमाडौंमा लगाइएको थियो ।

मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशाला काठमाडौको व्यवस्थापनमा शिविर संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै पशुपति गौशाला धर्मशालाका महासचिव राजेशकुमार अग्रवालले प्रत्येक महिनाको दुईवटा शनिवार काठमाडौमा कृत्रिम खुट्टा वितरण गर्ने गरिएको जानकारी दिए । उनले हालसम्म गौशालाले ६५ सय जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिसकेको जानकारी दिए । उनले अपांगता भएर बसिरहेका व्यक्तिहरुलाई कृत्रिम खुट्टा वितरण गरेर नयाँ जीवन दिनुजस्तो ठूलो सेवा अरु छैन भनेर गौशालाले यसलाई निरन्तरता दिएको जानकारी दिए ।
कृत्रिम खुट्टा किन्नु पर्दा एकदेखि डेढ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । शिविरबाट कृत्रिम खुट्टा लगाएका व्यक्तिहरुले साइकल चलाउनसमेत सक्छन् । कृत्रिम खुट्टा वितरण गरिसकेपछि १२ महिनासम्म फलोअप गर्ने गरिएको महासचिव अग्रवालले जानकारी दिए ।

अग्रसेन भवन विर्तामोड र रोटरी क्लव अफ विर्तामोडको संयुक्त आयोजनामा अग्रसेन भवनमा सञ्चालन भइरहेको श्रीराम कथाका प्रमुख वाचक हरिद्वार भारतका प्रसिद्ध कथावाचक नवराज प्रपन्नजी महाराजको प्रमुख आतिथ्यमा शिविर आयोजना गरिएको थियो । अग्रसेन भवन तथा रोटरी क्लव अफ विर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षतामा सम्पन्न शिविरमा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई , नेपाल राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष एवम् मारवाडी सेवा समिति नेपालका निवर्तमान अध्यक्ष कैलाशचन्द्र गोयल, मारवाडी सेवा समिति नेपालका महासचिव धर्मेन्द्र अग्रवाल, पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडीयालगायतको उपस्थिति रहेको कार्यक्रमका संयोजक माँगीलाल अग्रवालले जानकारी दिए । अग्रसेन भवनले रजत उत्सवकै अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
यस्तै, भवनकै आयोजनामा सञ्चालन भइरहेको नौदिवसीय दिव्य श्रीराम कथा जारी रहेको छ । रामकथा श्रवण गर्न भक्तजनको उल्लेख्य सहभागिता भइरहेको अध्यक्ष भद्रपुरेले जानकारी दिए । रामकथा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।