झापा, चैत २७ । चैत १५ गते तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले मानवअधिकारकर्मी र कानुन व्यवसायीको रोहबरमा आत्मसमर्पण गर्न तयार रहेको बताएका छन् ।

उनले पुनः आफू नेपालमै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रसाईंले मानवअधिकारकर्मी र आफूले भनेका अधिवक्ताहरूको रोहबर हुने हो २४ घण्टाभित्रै आफू आउने बताएका हुन् ।
‘पुलिसले खोज्न पर्दैन । म नेपालमै छु कुनै ठाउँमा छु । मानवअधिकारकर्मी र अधिवक्ताहरूको रोहबर हुने भने म २४ घण्टाभित्र आउँछु,’ प्रसाईंले भनेका छन् । उनले नयाँ योजना बनाइरहेको समेत बताएका छन् । प्रसाईंले भनेका छन्, ‘मेरो जीवनको ग्यारेन्टी हुन्छ भने म २४ घण्टाभित्र उपलब्ध हुन्छु ।’
त्यस्तै उनले आफूबाट आन्दोलनको नेतृत्व हत्याउने षड्यन्त्र भएको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आफूलाई राजावादी पार्टीको नेता बताउने एक जना मिलेर उक्त षड्यन्त्र रचिएको पनि उनको आरोप छ । ती राजावादी व्यक्तिका बारेमा भने पछि खुलासा गर्ने प्रसाईंको दाबी छ ।
आफ्ना बारेमा मिडियाहरूमा मिम र जोक बनेको पनि उनले बताए । ‘धेरै मिडियाहरूमा मेरो विषयमा मिम बनाउने काम भयो । मलाई जोकर बनाउने काम भए । दुर्गा प्रसाईं मुर्गा प्रसाईं भनेर उडाइयो । ती देखेर मलाई अचम्म लाग्यो,’ उनले भने । आफू पेरुको गोन्जालो नबन्ने उल्लेख गर्दै उनले भने, ‘हजार माइलको यात्रा शून्यबाट सुरु हुन्छ । भिजन र यात्रा एक व्यक्तिबाटै सुरु हुन्छ । दुर्गा प्रसाईं भनेको विचार हो । हरहर दुर्गा घरघर दुर्गा हुन्छ । म रहेँ भने यो जनविद्रोह सफल हुन्छ । नभए जनविद्रोह दबिएर जान्छ । म पेरुको गोन्जालो बन्न चाहन्नँ । गोन्जालोलाई पक्रेर मारियो । त्यसपछि पेरुको जनविद्रोह सकियो । म नेपालीहरूको लिडर बन्न चाहन्छु ।’
त्यस्तै आफू आएपछि चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जन र सुरेश रजकका परिवारलाई ५÷५ लाख रुपैयाँ दिने पनि प्रसाईंले घोषणा गरेका छन् । यसअघि चैत १७ गते पनि प्रसाईंले भिडियो सार्वजनिक गर्दै आफू काठमाडौंको कुनै एउटा मन्दिरमा रहेको बताएका थिए । तर उनी चढेको स्कोर्पियो भने इटहरीबाट प्रहरीले बरामद गरेको थियो ।
व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।
चैत १५ गते प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।