झापा,बैशाख २ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये सबैभन्दा बढी ९.५ प्रतिशत ऋण निर्माण क्षेत्रमा प्रवाह भएको छ ।

निर्माण क्षेत्रमा मात्रै १९ अर्ब ७८ करोड रुपैयाँ ऋण प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
गत आर्थिक वर्षको साउन–फागुनसम्म १२ अर्ब २४ करोड ९० लाख रुपैयाँ ऋण प्रवाह भएको थियो ।

निर्माण क्षेत्रअन्तर्गत आवासीय र राजमार्ग, पुललगायत निर्माणमा सबैभन्दा बढी ऋण प्रवाह भएको छ । राजमार्ग, पुललगायत निर्माणमा १९.८ प्रतिशतले ऋण प्रवाह बढेको छ । चालु आर्थिक वर्षको साउन – फागुनसम्म २० अर्ब ५८ करोड २ लाख रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब २० करोड ३२ लाख ऋण परिचालन भएको थियो ।

आवासीयतर्फ २.६ प्रतिशतले ऋण प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब ८२ करोड १६ लाख रुपैयाँ ऋण प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आवासीयतर्फ ७० करोड ६२ लाख रुपैयाँले ऋण प्रवाह ऋणात्मक छ ।

चालु आर्थिक वर्षको ८ महिनामा गैरआवासीय तर्फ २ अर्ब ६१ करोड ३१ लाख रुपैयाँले ऋणात्मक छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋण भन्दा यसअघि प्रवाह गरिएको ऋणको रकम बढी उठेकाले ऋण प्रवाह ऋणात्मक देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ७५ करोड २१ लाख ऋण प्रवाह भएको थियो ।

आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले ऋण प्रवाह बढेको छ ।

औद्योगिक उत्पादन क्षेत्रअन्तर्गत सबैभन्दा बढी फूड प्रोडक्सन (प्याकेजिङ र प्रोसेसिङ)मा १९.८ प्रतिशतले ऋण प्रवाह बढेको छ । चालु आर्थिक वर्षको ८ महिनामा २७ अर्ब ६० करोड ४३ लाख रुपैयाँ ऋण प्रवाह भएको हो ।

यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले ऋण प्रवाह बढेको छ ।

राष्ट्र बैंकका अनुसार कृषि र खनिजतर्फ भने ऋण प्रवाह ऋणात्मक छ । कृषिमा ८ करोड ९९ लाख रुपैयाँले ऋणात्मक देखिएको छ । कृषि फार्ममा ५ अर्ब ८० करोड ८२ लाख, चियामा ३९ करोड १९ लाख, पशुपालनमा २८ करोड ५६ लाख रुपैयाँले ऋणात्मक देखिएको छ ।

राष्ट्र बैंकका अनुसार कृषि अन्तर्गत सबैभन्दा बढी अन्य कृषि तथा कृषि सेवामा ऋण प्रवाह बढी भएको छ । । अन्य कृषि तथा कृषि सेवामा ५ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । जंगल, माछापालन र वधशालामा ६४ करोड ९२ लाख रुपैयाँ ऋण प्रवाह भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्