झापा,बैशाख ४ । ‘ब्युरो अफ इन्डियन सर्टिफिकेट’ (बीआईएस) नवीकरणका कारण निर्यात ठप्प भएको नेपाली प्लाइउड पुनः भारत जान थालेको छ ।

यसअघि बीआईएस नवीकरणको निहुँ बनाएर भारतले नेपाली प्लाइउडलाई नाकामै रोकिदिएको थियो, जसका कारण निर्यात ठप्प थियो ।

यसअघि नेपालबाट भारततर्फ निर्यात हुने क्रममा भारतको पानीट्यांकीस्थित स्थल भन्सारमा रोकिएको ३४ ट्रक नेपाली प्लाइउड निर्यात नभएपछि २४ दिनपछि पुनः नेपाल फर्काइएको थियो । अब भने प्लाइउड भारततर्फ निर्यात हुन थालेको छ ।

१० वटा प्लाइउड उद्योगले बीआईएस नवीकरण प्राप्त गरेपछि निर्यात सुरु भएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले जनाए । अहिले ६ उद्योगले प्लाइउड उत्पादन गरी भारत निर्यात गरिरहेका छन् । ४ उद्योगले दुई दिनअघि मात्रै नवीकरण प्राप्त गरेकाले तिनले पनि निर्यातको तयारी गरिरहेका छन् ।

ग्रिनसाई प्लाइउड उद्योग विराटनगर, सेन्चुरी प्लाइउड उद्योग विराटनगर, एभरेस्ट प्लाइउड उद्योग इटहरी, भुसाल प्लाइउड उद्योग बुटवल, साभारिया प्लाइउड उद्योग झापा र श्याम प्लाइउड उद्योग भैरहवाले अहिले प्लाइउड उत्पादन गरी निर्यात गरिरहेको घिमिरेले बताए । झापाका तीन प्लाइउड उद्योग (अम्बे, सञ्जीवनी र झापा प्लाइउड उद्योग) ले नवीकरण प्राप्त गरेका छन् भने दाङको गणपति प्लाइउड उद्योगले पनि नवीकरण प्राप्त गरेको छ । यीमध्ये झापाका तीन उद्योगले निर्यातको तयारी थालेका छन् भने दाङको गणपति प्लाइउड उद्योग आगलागीका कारण ठप्प रहेकाले उसले भने उत्पादन गरिरहेको छैन ।

देशभर ८० वटा प्लाइउड उद्योग स्थापना भएको प्लाइउड उत्पादक संघका अध्यक्ष घिमिरेको भनाइ छ । त्यसमध्ये भारत निर्यातका लागि ४७ उद्योगले आवेदन दिएका थिए । तीमध्ये १० वटाले प्राप्त गरे भने ३७ उद्योग प्राप्त गर्ने प्रक्रियामा छन् । नवीकरणका लागि आवेदन नदिएका उद्योगको बजार भने नेपाल नै रहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्