झापा, बैशाख ४। इलामको माईजोगमाई गाउँपालिका १ स्थित उत्तरे सामुदायिक वन समितिका अध्यक्षसहित ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

उत्तरे सामुदायिक वनको रुख कटान आदेश नभइकन कटान गरेको आरोपमा उनीहरुलाई जिल्ला अदालत इलामले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सामुदायिक वनका अध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र २ जना सदस्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको डिभिजन वन कार्यालय इलामले जानकारी दिएको हो ।

सामुदायिक वन उपभोक्ता समितिले २ सय ९५ क्यूफिट काठ र २ सय ७० भारी दाउरा कटान गर्ने निर्णय गरि कटान आदेशका लागि डिभिजन वन कार्यालयमा सिफारिस गरेकोमा निर्णय नभइ रुख कटान भएको अनुसन्धानमा खटिएका एक अधिकृतले जानकारी दिए ।

उपभोक्ता समितिले २७ सय ७ क्युफिट रुख कटान गरेको अनुसन्धानमा उल्लेख छ । सामुदायिक वनमा सल्लाका रुख २ सय ६ र कटुसको रुख ३ वटा कटान भएको अनुसन्धानमा उल्लेख छ । कटान आदेशबिना रुख कटान गरिएको भन्दै डिभिजन वन कार्यालयले ५ लाख ४१ हजार बिगो मागदाबीसहित २०८० चैत ३१ गते जिल्ला अदालतमा पेश गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्