विराटनगर । देशैभरिका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र विद्यालय कर्मचारी १६औँ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा होमिएका कारण विद्यालयहरू ठप्प छन् ।

२०८२ सालको भर्ना अभियान समेत असफल पार्दै शिक्षकहरू काठमाडौँ पुगेका हुन् । उनीहरु गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् । विद्यालयमा ताला लगाएर शिक्षकहरु काठमाडौँ गएका हुन् ।

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा सम्पन्न भएतापनि उत्तरपुस्तिका परीक्षण र सम्प्रेक्षण कार्य अझै पनि सुरु भएको छैन । त्यसैगरी बैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षामा समेत उनीहरूले सहयोग नगर्ने घोषणा गरिसकेका छन् ।

नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको नेतृत्वमा आन्दोलन जारी रहँदा आन्दोलनकारी शिक्षकहरूको संख्या दिनानुदिन वृद्धि भइरहेको छ । उनीहरूको एक सूत्रीय माग पञ्चायतकालीन शिक्षा ऐन २०२८ लाई विस्थापित गरी गणतान्त्रिक सरकारले संघीयताको भावना र मर्मअनुसार संघीय शिक्षा ऐन जारी गर्नुपर्ने रहेको छ ।

पञ्चायतकालीन सरकार प्रतिगामी हो भने त्यही सरकारले ल्याएको ऐन कानुन पनि प्रतिगामी हो भन्दै उनीहरु अग्रगामी संघीय शिक्षा ऐन लिएर मात्र घर फर्किने आन्दोलनमा होमिएका छन् । सरकार पक्षले उनीहरूका मागप्रति कुनै चासो नदिएका कारण आन्दोलन अझ सशक्त हुँदै गएको देखिन्छ ।
शिक्षकहरूको आन्दोलनले विद्यार्थीहरूको भविष्य र शिक्षाको गुणस्तर कायम राख्न चुनौती थपिएको छ । लामो आन्दोलनमा सहभागी शिक्षकहरुले छिटो भन्दा छिटो माग सम्बोधन गरी शिक्षकहरुलाई विद्यालय फर्काउनु पर्ने बताइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्