झापा , बैशाख ५ । सीमावर्ती कचनकवल गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान १०ः४५ बजे कचनकवल गाउँपालिका वडा न. ६ बनियानी चोकमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उतरतर्फ आउँदै गरेको बीआर ३७ एई ६४५१ नम्बरको मोटरसाइकल चालक कचनकवल गाउँपालिका वडा न. ५ बस्ने २८ वर्षीय कासिम मियालाई शंका लागेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा मोटरसाइकलको टुल बक्सभित्र लुकाई छिपाई ल्याउँदै गरेको प्लास्टिकसहित ४९ ग्राम ५९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । मियालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान कार्य जारी रहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।