इलाम , बैशाख ५ । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठक ५ बुँदे घोषणापत्र जारी गर्दै आज इलामको श्रीअन्तुमा सम्पन्न भएको छ ।

सूर्याेदय नगरपालिका वडा नम्बर —५ श्रीअन्तुमा हिजो र आज दुई दिनसम्म चलेको झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको बैठक दिगो विकास लक्ष्य हासिलमा स्थानीय सरकारको भूमिकालगायत अन्य बिषयमा केन्द्रित थियो ।
समन्वय समितिका संयोजक कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको अध्यक्षता, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालको प्रमुख आतिथ्यता तथा संविधानसभा सदस्य महिन्द्राकुमारी सुब्बाको विशेष आतिथ्यतामा भएको बैठकमा पालिकाहरुबीच सिकाइ आदानप्रदान गरिएको थियो ।

बैठकको पहिलो दिन समन्वय समितिका संयोजक कचनकवल गाउँपालिकाका उपाध्यक्ष भट्टराईले बैठकको औचित्यमाथि प्रकाश पार्दै छलफल गर्ने एजेण्डाहरुका बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । संयोजक भट्टराईले अहिले यो व्यवस्थाका वारेमा विभिन्न कोणबाट प्रहार भएको भन्दैँ रक्षाका लागि सवैजनालाई अघि बढ्न आग्रह गरे । अब उत्पादनमुखी वा उत्पादनका क्षेत्रमा लाग्न र जलवायु परिवर्तनको असरका बारेमा हरेक क्षेत्रलाई बुझाउँदै त्यसतर्फ लाग्न समेत उनले जोड दिए ।

उक्त दिन सहारा नेपालका कार्यक्रम व्यवस्थापक मातृका सुवेदीले दिगो विकास लक्ष्यका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता भएको भन्दैं उनले सन् २०३० सम्ममा सबै प्रकारका गरिबी उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण परिकल्पना गर्ने आफ्नो प्रस्तुतीमा उल्लेख गरेका थिए ।

सहारा नेपालको सहयोग तथा संवाद समूहको सहजीकरणमा भएको कार्यक्रममा ग्लोबल लर्निङ ल्याब नेपालीका प्रशिक्षक सुष्मा श्रेष्ठले सहभागीहरुलाई चेतनामुलक र ज्ञानबर्द्धक खेलसहित नेतृत्व, क्षमता र दक्षता अभिवृद्धि गर्ने खालका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालले यस प्रकारका कार्यक्रमले पालिका पालिकाबीचको सम्बन्ध अझ बढी मजबुत हुने, असल अभ्यासको सिकाई आदानप्रदानले पालिकाको विकास हुनेलगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

         के छ घोषणापत्रमा ?

बैठकको दोस्रो दिन शुक्रबार आर्ट अफ लिभिङका स्वामी सर्भानन्दले तनाव व्यवस्थापनका बारेमा सहभागीहरुलाई योग र ध्यानका माध्यमबाट जानकारी गराए । उनले हरेक मानिसले सकारात्मक विचार राखेमात्र लक्ष्यमा पुग्न सक्ने बताउँदै रिस र क्रोधले व्यक्तिको विकास नहुने बताए । दोस्रो दिनको बैठकमा पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको उपस्थितिमा साझा धारणा बनाउँदैं ५ बुँदे इलाम घोषणापत्र जारी गरिएको हो ।

संविधान प्रदत्त लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सबलीकरण गर्दै नागरिकमा परिवर्तनको प्रत्याभूत गराउने पहिलो सरकार स्थानीय सरकार भएकाले पालिकाका प्रभावकारी तथा रचनात्मक योजनाहरु, सुशासन,सेवा प्रवाह, आर्थिक विकास र सुधारले मात्र लोकतन्त्र र सामाजिक न्यायलाई मजबुत बनाउन सकिन्छ भन्ने दृढ विश्वास व्यक्त गर्दै तदअनुसार नीति तथा कार्यक्रमहरु अझ प्रभावकारी कार्यान्वयनमा लैजाने , जलवायु परिवर्तनका कारण पछिल्लो चरणमा देखिएका समस्याहरु थप बिकराल बन्दैं जाने परिस्थिति न्यूनीकरणका लागि झापाका स्थानीय तहमा सामूहिक प्रकृतिका जलवायु अनुकूलका कार्यक्रमहरु बनाएर कार्यान्वयन गर्ने, कोशी प्रदेश सरकारले शुरु गरेको कोशी पर्यटन वर्ष २०८२ को स्वागत गर्दै पर्यटन वर्षसँग जोडेर स्थानीय स्तरका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको पहिचान, प्रवद्र्धन र प्रचारका कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहने , आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम बनाउँदा उत्पादनमुखी र रोजगारमुखी हासिल गर्न स्थानीय सरकारले गर्नुपर्ने कार्यको सन्दर्भमा विज्ञबाट सहजीकरणसहित कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्ध रहने घोषणापत्रमा उल्लेख छ ।

बैठकमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, कन्काई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गकुमारी पराजुली, शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, गौरादह नगरपालिकाका उपप्रमुख जलबर्षा राजवंशी, हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने कुँवर, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडा, बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेललगायतले आ–आफ्नो विचार राखेका थिए ।

नगर तथा गाउँपालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले आ—आफ्नो पालिकामा भइरहेका नमुना कार्यक्रमहरुबारे एकापसमा छलफल गरेका थिए । यसखाले छलफलका माध्यमबाट उपप्रमुख तथा उपाध्यक्षहरुलाई आफ्नो अधिकार क्षेत्र र कर्तव्यका बिषयमा थप ज्ञान आर्जन भई स्थानीय सरकार सञ्चालनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । त्यस्तै झापाका सवै पालिकामा बिषादियुक्त सागसब्जी र आयातित माछा तथा मासुजन्य वस्तु नियन्त्रण गर्नुपर्ने, उपभोक्ताको अधिकार रक्षा गर्दै खाद्य गुणस्तर कायम गर्न तथा मूल्य नियन्त्रण गर्न बजार अनुगमन नियमित र प्रभावकारी बनाउनुपर्ने, जिल्लाभरि लागूऔषधको समस्या बढ्दो रहेको र त्यसको नियन्त्रणमा समेत सवै पालिका एकजुट भएर लाग्नुपर्ने, खुल्ला सीमाका कारण मुख्य चुनौतीको रुपमा रहेको लागूऔषधको नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरी तथा अन्य सरोकारवालासँग समन्वय गरेर कार्यमुलक तथा चेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने, त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने बैठकले निष्कर्ष निकालेको छ । सहभागी सवैले आ आफ्नो पालिकामा ६ महिनाको अवधिमा भए गरेका कामका विषयमा जानकारी गराएका थिए ।

  संयोजकमा अर्जुनधाराकी पराजुली

झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठकले आगामी समयका लागि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीलाई संयोजकमा सर्वसम्मत चयन गरेको छ । निवर्तमान संयोजक नवराज भट्टराईले नयाँ संयोजक पराजुलीलाई माइन्युटकासाथ जिम्मेवारी हस्तान्तरण गरे ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशी र शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की सञ्जालको सदस्य छन् ।

त्यस्तै सञ्जालको सदस्यमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अञ्जुदेवी थपलिया, कमल गाउँपालिकाकी प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाकी शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाकी पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाकी लक्ष्मी मैनाली रहेका छन् । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्