लक्ष्मी उप्रेती

विर्तामोड । झापाका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले सञ्चारकर्मीहरुको बानी व्यवहार र नैतिकतामा सुधारको खाँचो औल्याएका छन् ।

प्रेस चौतारी नेपाल, जिल्ला शाखा झापाले आफ्नै सभाहलमा आयोजना गरेको ‘सम्पादकसँग प्रेस चौतारी, अखबार, रेडियो र टिभीको विद्यमान समस्या, चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रमका मुख्य वक्ताका रुपमा सहभागी सम्पादकहरू प्रतिदिन दैनिक समाचारपत्रका सम्पादक इन्द्रसिंह राजवंशी, मेरो रेडियोका समाचार सम्पादक कुमार भट्टराई, , रेडियो विराटका समाचार सम्पादक लीला अनमोल, पत्रकार महासंघ झापाका सचिव एवम् सुखानी साप्ताहिक समाचारपत्रका सम्पादक राजु पाठक, सूर्याेदय टेलिभिजनका समाचार सम्पादक राजु पौडेल र स्वतन्त्र आवाज साप्ताहिक समाचारपत्रका सम्पादक योगेश खपाङ्गीले ‘अखबार, रेडियो र टिभीको विद्यमान समस्या, चुनौती र अवसर’ का बारेमा आ—आफ्ना विचार प्रस्तुत गरेका थिए ।

मिडिया हाउसभन्दा मिडियाकर्मी शक्तिशाली भएकाले पछिल्लो समय सञ्चार गृह कमजोर भएको निष्कर्ष समेत निकालेका छन् । पत्रकारितालाई पेशा बनाएका कारण पनि अहिले सञ्चारमाध्यमहरु संकटमा परेको झापाली सम्पादकहरुको ठहर छ । नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एवम् स्पिक कर्नर डटकम अनलाईनका सम्पादक सुब्रत न्यौपाने सञ्चारक्षेत्रमा अहिले देखिएका मुख्य समस्या र त्यसको निराकरण गर्न सकिन्छ भन्ने लिखित कार्यपत्र बुँदागतरूपमा प्रस्तुत गरेर बिषय प्रवेश गराएका थिए ।

‘कोभिडका कारण थला परेका थुप्रै सञ्चारमाध्यम अहिले पनि पुरानै लयमा फर्किन सकेका छैनन् । त्यसबखत थुप्रै दैनिक पत्रिका बन्दा भए , तर तिनीहरु अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् सँधैका लागि बन्द भए’ मेरो रेडियोका समाचार सम्पादक कुमार भट्टराईले भने—‘अहिले हरेक प्रकारका सञ्चारमाध्यममा संकटै संकट छ । त्यसको एउटा कारण कोभिड पनि होला । तर,सञ्चारमाध्यम संकटमा पर्ने थुप्रै कारणहरुमध्ये स्वयम् सञ्चारकर्मी पनि हुन् ।’ पछिल्लो समय मिडिया हाउसभन्दा मिडियाकर्मी शक्तिशाली भएकै कारण सञ्चारगृह कमजोर बनेको भट्टराईले दाबी गरे । सवैभन्दा पहिला मिडियाकर्मीभन्दा मिडिया हाउसलाई बलियो बनाउनुपर्छ भन्ने आफूले सधै ठिंग उभिए पनि परिपाटी ठीक उल्टो भएका कारण आफूले लगानी गरेको सञ्चारमाध्यम बन्द हुन लागेको अनुभव उनले सुनाए ।

‘कन्टेन राईटिङमा सञ्चारकर्मी कमजोरी भएको उनको ठहर छ । ‘अधिकाँश पत्रकार दलका भयौँ दलका विरूद्ध नलेख्ने, कुन दलको पत्रकार हो ? कुन दलको पत्रिका हो ? अनि त्यो मिडिया कसले पढ्ने अहिले बजारमा चलेको हल्ला र यथार्थ पनि यहि हो ’उनले थपे, व्यवसायिक पत्रकारिता हुनुहुँदैन, मिडिया हाउस व्यावसायिक बन्नुपर्छ । राजनीति र पत्रकारितालाई पेशा बनाउनु हुँदैंन । अहिले दुवैक्षेत्रलाई पेशा बनाइएको छ । विज्ञापन छैन अनि थला पर्दैनन् र सञ्चारमाध्यम ?’ उनले प्रश्न गरे ।

प्रतिदिन दैनिक समाचारपत्रका सम्पादक इन्द्रसिंह राजवंशीले पत्रकारजन्य संघ संगठनले झापामा विगतदेखि वर्तमानमा सञ्चारमाध्यमको हालत के छ ? रेडियो, टेलिभिजन, छापा सञ्चारमाध्यम किन खोल्दै र बन्द भए कहिले पनि कारण नखोजेको आरोप लगाए । ‘यसको कारण खोजौँ’ उनले भने । नेता पत्रकारहरूले विज्ञापन कब्जा गरेको समेत आरोप लगाउन सम्पादक राजवंशी पछि परेनन् ।

‘अझै पनि शक्तिकेन्द्रकै रूपमा सञ्चारमाध्यम चलाउनु पर्ने हो’ उनले प्रश्न गर्दै भने —‘स्थानीय तहले विज्ञापन दिदैँन । सवै विज्ञापन टाठाबाठा र नेता पत्रकारहरुले ठेक्का लिइसकेका हुन्छन् । सवैलाई आफ्नो मात्रै सञ्चारमाध्यम सञ्चालनका लागि खर्च पाए भयो । यस्ता श्रृंखलाको अन्त्य गरौ सवैभन्दा पहिला अनि आफै चल्छन् सञ्चारमाध्यमहरु ।’

बजारमा पाठक, दर्शक र श्रोताहरुले खोजेका समाचार पस्किने हो भने वा चुनौती रिक्स मोलेरै भएपनि समाजले खोजेका समाचार दिने हो भने वा त्यस्ता समाचार लखे विज्ञापन आफैँ आउने सम्पादक राजवंशीको तर्क थियो । अहिले पहुँचका भरमा विज्ञापन पाईने गरेको आरोप उनको छ । उनले समस्याका बारेमा सवैले मम गर्ने र कहाँबाट को कसरी सुध्रिने हो खोजेर सुध्रिन आफैबाट थाल्नुपर्ने तर्क अघि सारे ।

रेडियो विराटका समाचार सम्पादक लीला अनमोलले पत्रकारिता व्यावसायिक नहुने भन्दैं पत्रकारिता पेशा स्वतन्त्र भए पनि व्यवहारमा नदेखिएको बताईन् । आर्थिकरूपमा कमजोर भएका अहिले हरेक सञ्चारमाध्यमलाई मजवुत बनाउनु पर्ने भन्दै संचारिका समूहका अध्यक्षसमेत रहेकी अनमोलले सञ्चारकर्मीहरुले आचरण सुधार गर्नुपर्नेमा जोड दिइन्

सञ्चारमाध्यम सञ्चालन गर्न अहिले निक्कै चुनौतीपूर्ण अवस्था रहेको उनको भनाई छ ।‘अहिले तपाई हामीले गरेको पत्रकारिता समाजले मन पराएका छैनन् ’उनले भनिन्—‘उसको सञ्चारमाध्यम के हो ? कहाँबाट प्रकाशित वा प्रसारित हुन्छ सर्वसाधारणलाई थाहा हँुदैन मात्र उसले पत्रकार चिन्छ र उसलाई खुशी बनाएमात्र पुग्छ भन्ने सोचमा ऊ हुन्छ अनि कसरी मजबुत हुन्छ मिडिया हाउस, अहिले पनि नसुध्रिए अब हामी कहिले सुध्रिने त ? । ’ इन्स्टाग्राम, यूट्युवलगायत अन्य सामाजिक सञ्जालका कारण सञ्चारमाध्यम धरापमा परेको उनको बुझाई छ ।

नेपाल पत्रकार महासंघ झापाका सचिव एवम् सुखानी साप्ताहिकका सम्पादक राजु पाठकले पछिल्लो समय सञ्चारमाध्यमका सम्पादक संवाददाताभन्दा बढी भएका कारण सञ्चारमाध्यमको यो हालत भएको टिप्पणी गरे । राजनीति आस्था विचार र सिद्धान्तकै कारण वा दलको पहुँचका भरमा विज्ञापन कसैले प्राप्त नगरेको त्यसो गरेको भए महासंघले सत्यतथ्य बुझ्ने र समानरुपमा विज्ञापन उपलब्ध गराउने कुरामा लाग्ने पाठकको भनाई छ ।

पत्रकारिता व्यावसायिक नै हुनुपर्ने भन्दैं पाठकले सवैलाई आ–आफ्नो सञ्चारमाध्यमको गुणस्तर, पहुँच हेर्न आग्रह गर्दै एउटा पालिकाको पत्रिका अर्काे पालिकासम्म पनि नपुग्ने, खरिद गरेरै पढन खोज्दा मिडिया हाउसको कार्यालय वा हुलाकमा मात्र पाईने अनि विज्ञापन दिएन भनेर रिसाउनुपर्ने ? उनले प्रश्न तेस्र्याए ।

सूर्याेदय टेलिभिजनका समाचार सम्पादक राजु पौडेलले अहिले झापामा रहेका दुईवटा टेलिभिजन निकै संकटमा पुगेको बताए । रेडियो र अखबारभन्दा टेलिभिजनको समाचार उत्पादन महंगो हुने भन्दैं पौडेलले सामाजिक सञ्जालले त झनै समस्यामा पारेको गुनासो गरे ।

सवैभन्दा बढी संस्थागतरूपमा चलेका मिडिया संकटमा छन् । टिभीमा प्रसारण हुने विज्ञापन अहिले सामाजिक सञ्जाल वा विज्ञापनदाताले आफै पेज बनाएर प्रसारण गरिरहेका कारण विज्ञापन पुरै घटेको उनको भनाई छ । टेलिभिजनमा लगानी गर्न पनि लगानीकर्ता तयार नभएको र पत्रकारहरुले विज्ञापनलाई समाचारका रूपमा ढालेका कारण यो समस्या आएको उनको भनाई छ ।

स्वतन्त्र आवाज साप्ताहिक समाचारपत्रका सम्पादक योगेश खपाङ्गीले विगतदेखि वर्तमानसम्म सञ्चारमाधयमको हालत उहि रहेको बताए । ‘म पत्रकारिता गर्दै गर्दा बाँच्नका लागि झापाबाट भागेर हिडेको हुँ । समाचार छापेबापत सुरक्षाकर्मीको थ्रेट हुन्थ्यो । ३० वर्षपछि झापा आएँ । अहिले पनि पत्रकार असुरक्षित छन् । ज्यानको सुरक्षा भएन उनले भने । ’ पत्रकारिता कोठामा नभएर स्पोटमै पुगेर गर्नुपर्ने र विश्वसनियता कायम गर्दैं सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुपर्ने उनको जोड छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य माधव विद्रोहीले पत्रकार स्वतन्त्र हुन नसक्ने बताए । उनले हरेक पत्रकारहरु आफ्नो जिम्मेवारप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।

सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौला र यलम्बर टाईम्स साप्ताहिकका सम्पादक दिपिन राईले अहिले विभिन्न गतिविधिमा पत्रकारहरुको सेण्डिकेट चल्ने गरेको, खाम पाए समाचार लेख्ने नत्र नलेख्ने, वा आफूबाहेक अरु कोहि छैन भन्ने कारणले पनि सञ्चारमाध्यमको यो हविगत भएको बताए । अब पनि पत्रकार नसुध्रिने हो भने अब सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति विश्वास घट्ने बताए ।

प्रेस चौतारी नेपाल, झापा शाखाका अध्यक्ष प्रदिप परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्य र स्वागत उपाध्यक्ष राजु पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्