भद्रपुर, बैशाख ७ । गणतन्त्र नेपाल प्राप्तिको लडाईमा शहादत प्राप्त गरेका शहीद सुरज विश्वास र राजन गिरीको स्मृतिमा चन्द्रगढीमा बृहद सभा सम्पन्न भएको छ ।

गणतन्त्र स्थापनार्थ भएको दोश्रो जनआन्दोलनमा शहादत पाएका शहीद सुरज विश्वास र राजन गिरीको स्मृतिमा नेपाल विद्यार्थी संघ झापाले कार्यक्रम गरेको हो ।

सो कार्यक्रममा शहीदद्वयका मातापितालगायत लोकतान्त्रिक आन्दोलनका योद्धालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सम्बोधन गर्दै झापाली भूमिमा रगत बगाएका सुरज विश्वास र राजन गिरीको सपनाका रूपमा स्थापित गणतन्त्रको कहिल्यै अन्त्य नहुने धारणा राखेका थिए । काँग्रेस नेता सिटौलाले राजावादीको आन्दोलनको कुनै अर्थ नरहेको भन्दै लाखौं जनताले एकै चोटी सडकमा आएर ल्याएको गणतन्त्रलाई केही अराजक भीडले हल्लाउन नसक्ने दावी गरे ।

उनले त्यो बेला राजाले सही काम नगरेका कारण जनआन्दोलनबाट राजसंस्था फालिएको बताउँदै वर्तमान संविधानले राजालाई कुनै स्थान नदिएको स्पष्ट पारे । उनले आम जनमानसमा राजा फर्किन्छन् भन्ने कुराको भ्रम छरेर नागरिकमा अन्यौलता सिर्जना गर्ने प्रयास भइरहेकोले त्यस्ता जनविरोधी अभियान असफल हुने भन्दै राजा फर्किन्छन् भन्ने सोच दिवा सपना मात्र भएको बताए ।

उनले नारायणहिटी राजदरबार सरकारको सम्पत्ति भैसकेकाले यसलाई सरकारले संग्रहालयको रुपमा परिणत गरिसकेको समेत बताए । नेता सिटौलाले त्यत्रो शहीदहरुको बलिदानीबाट संस्थागत भइसकेको गणतन्त्रको विकल्प अन्य तन्त्र हुनै नसक्नेमा जोड दिए ।

सो कार्यक्रममा शहीद पिता केदारशमशेर गिरी, माता मिनु विश्वास, जनआन्दोलनका घाइतेहरु गोविन्द कडरिया, गोपाल श्रेष्ठ, सिन्धु उप्रेती तथा २०६२÷०६३को जनआन्दोलनका विशिष्ट कमान्डर सुधिरकुमार सिवाकोटीलाई प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संजय निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गोकुल पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्