झापा, बैशाख ७ । राजधानीमा पक्राउ परेका आफ्ना नेताहरुको रिहाईको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बिर्तामोडमा मसाल जुलुस निकालेको छ ।

आज साँझ बिर्तामोड –४ स्थित जिल्ला पार्टी कार्यालय अगाडीबाट राप्रपा जिल्ला कार्यसमिति झापाको आयोजनामा मसाल जुलुस निकालिएको हो ।
जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको नेतृत्वमा काठमाडौंमा पक्राउ परेका राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सचेतक ज्ञानेन्द्र शाहीलाई बिनासर्त २४ घण्टाभित्र रिहाईको माग गर्दै “संबैधानिक राजतन्त्र जिन्दावाद , जनतामारा गृहमन्त्री राजीनामा दे , प्रेस स्वतन्त्रता ग्यारेन्टी गर, धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र कायम गर, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, नालायक सरकार मुर्दावाद, गणतन्त्र मुर्दावाद, हाम्रो नेतालाई रिहा गर” जस्ता नारा लगाएका थिए । मसाल जुलुस मुक्ति चोकतर्फ आउने क्रममा प्रहरीले उक्त मसालहरु नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टको कमाण्डमा ५० जना, सशस्त्र प्रहरी बल बेश क्याम्प शनिश्चरेबाट सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज बिष्टको कमाण्डमा २० जनाको टोली खटिएर ती मसाल नियन्त्रणमा लिएको जनाइएको छ । जुलुसमा २०० भन्दा बढी सहभागी रहेको अनुमान गरिएको छ ।