एजेन्सी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ ।

इस्टरका अवसरमा आइतबार सेन्ट पिटर्स स्क्वायरमा उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले वक्तव्य जारी गर्दै पोपको निधन भएको जनाएको हो ।

‘प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपरेको छ,’ कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा जारी वक्तव्यमा उल्लेख छ, ’आज बिहान ७ः३५ बजे (०५ः३५ जिएमटी) रोमका बिशप फ्रान्सिस पिताको घरमा फर्किनुभयो । उहाँको सम्पूर्ण जीवन प्रभु र चर्चको सेवामा समर्पित थियो ।’

फ्रान्सिस यसै वर्ष निमोनियाका कारण दुई पटकसम्म गम्भिर विरामी परेका थिए । उनी ३८ दिन अस्पतालमा बिताएर २३ मार्चमा डिस्चार्ज भएका थिए । गम्भीर बिमारीपछि आराम गरिरहेका फ्रान्सिस इस्टरका अवसरमा आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर अनुयायीलाई खुशी पारेका थिए ।

आइतबार उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै ‘इस्टर’ शुभकामना दिएका थिए । त्यस क्रममा आफ्नो परम्परागत ‘उर्बी एट ओर्बी’ (सहर र विश्वलाई) विचारको स्वतन्त्रता र सहिष्णुताको आह्वान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्