झापा,बैशाख ९ । पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या करिब आठ लाख पुगेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार २०८१ को वैशाखदेखि चैतसम्म सात लाख ९४ हजार ८४५ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यसो त अघिल्लो वर्ष चैतदेखि वैशाखसम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या सात लाख ११ हजार ४२३ जना थियो । जुन २०८० भन्दा २०८१ सालमा ८३ हजार ४२२ जनाले बढी हो ।
विभागका अनुसार २०७९ चैतदेखि वैशाखसम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या सात लाख ७३ हजार २४२ हजार थियो । यो तथ्याङ्क हेर्दा पछिल्लो दुई वर्षमा रोजगारीका लागि बिदेसिनेको संख्या बढेको पुष्टि हुन्छ । विभागका अनुसार यस वर्षको सो अवधिमा सबैभन्दा धेरै चैतमा ७३ हजार ४०३ जना र सबैभन्दा कम असोजमा ५३ हजार ५२५ जना बिदेसिएका छन् । यस्तै जेठमा ७२ हजार ८७१ जनाले श्रम स्वीकृति लिएका छन् भने असारमा ५८ हजार ७३६ जना, साउनमा ५९ हजार ५७५ जना गएको विभागको प्रतिवेदनमा उल्लेख छ ।
विभागका अनुसार भदौमा ५७ हजार ४९३, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ६८ हजार ९६३, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।