झापा, बैशाख ९ । पाथीभरा क्षेत्रमा हिजो भएको जीप आगलागीको घटनामा मृत्यु भएका भद्रपुरका तीनजनाको सामूहिक अन्त्येष्टि गर्न लागिएको छ ।

आज दिउँसो ताप्लेजुङबाट शव ल्याएर भद्रपुर– ७ देउनियामा रहेको संकटेश्वर विश्रान्ती घाटमा अहिले अन्त्येष्टि गर्ने तयारी भइरहेको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताए । झापा भद्रपुरका विनोद पौडेल, सरिता पौडेल र उनीहरुका नातिनी ललितपुरकी आध्या आचार्यको शव विनोदका भाइ महेश पौडेलले बुझेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा हिजो बिहान ५ बजेतिर सेवारो चोकमा पोलबाट लत्रिएको तार छुँदा करेन्ट लागेको थियो । त्यसलगत्तै जीपमा आगो लागेको थियो। आगलागीबाट भद्रपुर ८ निवासी ७० वर्षीय विनोद पौडेल , उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल , उनीहरुका नातिनी ललितपुर निवासी १६ वर्षीया आध्या आचार्य र गाडी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको थियो । त्यस्तै पौडेलका छोरी ललितपुर –१० बस्ने ४५ वर्षीया सबिना आचार्य र नाति ९ वर्षीय भबियम आचार्य घाइते भएका छन् । ‘छोरो (विनोद–सरिताको) अस्ट्रेलियाबाट काठमाडौ आइपुगेको र काठमाडौबाट झापा आउँदै गरेकाले घाटमा पर्खेर बसेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

त्यस्तै पौडलका नातिनी आध्याको परिवारका तर्फबाट पनि आउन बाँकी रहेको उनले जानकारी दिए । ललितपुर घर भएकी नातिनी आध्याको अन्त्येष्टि पनि हजुरबा–आमासँगै झापामै गरिने भएको हो । आमा (सविना पौडेल आचार्य) को उपचार भइरहेका कारण शव काठमाडौं लैजाने अवस्था नभएकाले ललितपुर निवासी आध्याको पनि अन्त्येष्टि झापामै गरिने भएको हो ।सविनाको काठमाडौं उपचार भइरहेको छ ।

पाथीभरा क्षेत्रमा भएको सो घटनालाई लिएर भद्रपुरबासीहरु स्तव्ध बनेका छन् । मृतक विनोद पूर्वन्यायाधीश नन्दप्रसाद पौड्यालका जेठा छोरा हुन् । पाँचजना यात्रु लिएर पाथीभरा जाँदै गरेको जीपमा हिजो बिहान पाथीभरा क्षेत्रको सेवारो चोक नजिक विद्युतीय करेन्ट लागेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्