झापा, बैशाख १० । मोरङ र सुनसरीमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

आज दिउँसो अन्दाजी ४.१० बजे मोरङ सुन्दरहरैचा– ९ चाँदनी पेट्रोल पम्पनजिक बिजुलीको पोलमा चढेर टेकमाईन इन्टरनेटको तार सिफ्टिङ गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का गंभीर घाइते भएका छन् ।
इलाम चुलाचुली ३ बस्ने २८ वर्षीय राजेश लावतीलाई उपचारका लागि नोबेल अस्पताल बिराटनगर पठाइएकोमा दिउँसो ४ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै सुनसरी इटहरी १७ बस्ने ४३ वर्षीय बालकुमार अधिकारी गंभीर घाइते भएका छन् । उनलाई नोबल अस्पतालबाट आर्या न्युरो अस्पताल बिराटनगर रेफर गरिएको छ ।
त्यस्तै आज दिउँसो २;३० बजे भारत बिहार जोगवनी टिकुलिया घर भई हाल बिराटनगर १५ भटिमोडस्थित ससुराली घरमा बस्दै आएका ३६ वर्षीय सुरेश चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । कोठामा सुतिरहेको अवस्थामा बेडनजिकै राखेको टेवल पंखाबाट अचानक करेन्ट लागेर उनी घाइते भएका थिए । कोशी अस्पताल बिराटनगरमा उपचारका क्रममा दिउँसो ३.४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सुनसरीमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । हिजो साँझ ६;१० बजे बर्जु गाउँपालिका ६ चिमडी बस्ने रामकुमार मेहताकी श्रीमती २८वर्षीया रेखा मेहतालाई घर सरसफाई गर्ने क्रममा करेन्ट लागेको थियो । घाइतेलाई अस्पताल पुर्याउनसाथ डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
त्यस्तै आज साँझ सुनसरीको बराहक्षेत्रमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालिका गंभीर घाइते भएकी छन् । बराहक्षेत्र–१ खारखोला बस्ने गंगा खत्री श्रेष्ठका छोरी १२ वर्षीया सुस्मिता श्रेष्ठलाई आफनै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको हो । घाइतेलाई स्थानीय अस्पताल चतरामा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।