झापा, बैशाख ११ । बिर्तामोडको कैलाशपति ट्रेडर्सबाट मात्र विद्यालय पोशाक किन्नुपर्ने बाध्यता विद्यालय संचालकहरुले बनाएपछि त्यसविरुद्ध आजित भएर अभिभावकहरुले नगरपालिकामा उजुरी दिएका छन् ।

बिर्तामोड नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका अधिकांश विद्यालयहरुले एउटै कैलाशपति ट्रेडर्सबाट मात्र विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था गरेका कारणले विद्यार्थी÷अभिभावकहरुलाई भीडभाड भई घण्टौसम्म लाइनमा बस्नुपर्ने, पालो नआएर पटक पटक धाउनुपर्ने जस्ता समस्या भोग्नु परिरहेको छ । त्यस्ता समस्याबाट आजित भएर अभिभावकहरुले नगरपालिका कार्यालयमा लिखित उजुरी दिएका हुन् ।

नगरपालिकाले एउटै ठाउँबाट मात्र विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था नगरी सबै विद्यालयहरुले विद्यार्थीहरुलाई ड्रेस कोड उपलब्ध गराइ अभिभावक स्वयम्ले नै पोशाक व्यवस्थापन गराउने व्यवस्था गर्न सवै विद्यालयहरुलाई निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी तिलचन भण्डारीले सूचना जारी गरी त्यस किसिमको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

सबै विद्यालयले कैलाशपतिमै मात्र विद्यालय पोशाक किन्न पठाएपछि त्यहाँ अत्यधिक भीड हुने गरेको छ । भीडभाडका क्रममा विवाद पनि भएको थियो । अभिभावकहरुले झन्झट बेहोर्नु पर्दा आक्रोश पोखेको र पसल संचालकले नराम्रो व्यवहार गरेको बताइएको छ ।

बिर्तामोडमा ५६ वटा निजी विद्यालय रहेका छन् । अधिकांशले त्यही कैलाशपतिमा विद्यालय पोशाक किन्न लगाउँछन् । पाठ्यपुस्तकदेखि विद्यालय पोशाक खरिदमा कमिशनको खेल हुँदै आएको छ ।

१ प्रतिक्रिया

  1. जिल्ला प्रशासन झापाले सिल भएको ताला लगाउन किन ढिला गरेको रहेछ यस्तो ठगी गर्नेलाई ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्