झापा,बैशाख १२ । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि मोरङको सुन्दरहरैचामा तनाव भएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको छ ।

आज बिहान ११ बजेतिर सुन्दरहरैचा –१ स्थित हरैचा चौकमा बिराटचौकबाट बिराटनगरतर्फ जाँदै गरेको ना १ क ६२७० न. को टिपरले सोहि दिशातर्फ जाँदै गरेको प्र १–०२–०५३ प ७०१० न. को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी दुहबी –९ बस्ने ४० वर्षीय महमद हासिम मियाको घटनास्थलमै मृत्यु भएको थियो ।त्यसपछि करिव ४–५सय जना मानिसहरु भेला भई हो–हल्ला गर्दा प्रहरीले सम्झाउने प्रयास गरेको थियो ।
भीडले टिपर हटाउने क्रममा प्रहरी र टिपरमाथि ढुंगा प्रहार गरेका थिए । त्यसक्रममा प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशी घाइते भएका छन् ।उनको टाउकोमा ढुंगाले लागेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरी अश्रुग्यास र हवाई फायर गरेको थियो । प्रहरीले ९ राउण्ड अश्रुग्यास र एसएलआरबाट ८ राउण्ड हवाई फायर गरेको जनाइएको छ ।
मृतकको लाशलाई पोस्टमार्टमको लागि कोशी अस्पताल बिराटनगरतर्फ पठाइएको छ भने टिपर चालक बारा कोल्बी घर भई हाल मोरङ सुन्दरहरैचा १२ मा डेरा गरी बस्ने २५ वर्षीय पवन योन्जनलाई इलाका प्रहरी कार्यालय बिराटचौकले नियन्त्रणमा लिएको छ ।
तत्काल इलाका प्रहरी कार्यालय हरैचाबाट प्रहरी नायव निरीक्षक निरबहादुर खड्काको कमाण्डमा टोली खटिएर समन्वय तथा सम्झाई बुझाई गर्ने कार्य गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक मदन के.सी. र मातहत समेतबाट थप ७२ जनाको टोली खटिएको थियो । त्यसपछि दंगा दुहवी, सुनसरीबाट प्रहरी निरीक्षक मेघराज अर्यालको कमाडमा ४० जनाको थप टोली खटिएको थियो ।