झापा, बैशाख १२ । झापाको मेचीनगरमा नगद र गरगहना लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहानको राति अन्दाजी ३ बजे मेचीनगर नगरपालिका वडा नम्वर–१० टिमाई भ्याली बस्ने ७१ वर्षीया पन्चुकुमारी राई घरमा सुतिराखेको अवस्थामा कुटपिट गरी उनले लगाएको सुनको बुलाकी आधा तोला,कानको मारवाडी आधा तोला, र सिरानिमुनि राखेको नगद ७ हजार गरी जम्मा २ लाख ४७ हजार बराबरको धनमाल लुटपाट भएको थियो ।
लुटेराको आक्रमणबाट ती वृद्धा घाइते भएकी छन् । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
सो घटनापछि आज दिउँसो इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मेचीनगर नगरपालिका वडा नम्वर–१३ चारआलीबाट लुटेरालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उप–महानगपालिका वडा नम्वर–१६ घर भई हाल मेचीनगर नगरपालिका वडा नम्वर–१० टिमाई भ्याली डेरा गरी बस्ने ४१ वर्षीय मोहमद नियामत रहेका छन् ।
उनलाई सामानसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।