झापा,बैशाख १४ । प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् ।

आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरूबिच झडप भएको थियो ।
झडपको क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका हुन् । घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिटल र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
शान्तिपूर्ण शैक्षिक आन्दोलनमा प्रहरीले बल प्रयोग गरेर अन्धाधुन्ध शिक्षाकर्मीमाथि लाठी प्रहार गरेको उनको भनाइ छ । ऐन माग्न आएका शिक्षक कर्मचारीमाथि बन्दुक उपहार प्रदान गरेको बताए ।

आन्दोलनको क्रममा २६ औं दिनमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले राखेको निषेधित क्षेत्रमा शिक्षकहरू प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो । प्रहरीको तर्फबाट लाठी र पानीको फोहोरा प्रहार भएपछि शिक्षकहरूले समेत ढुंगा प्रहार गरेका थिए ।

त्यस्तै, उक्त्त शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की समेत गम्भीर घाइते भएकी छिन् । शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न कार्की बानेश्वर पुगेकी थिइन् ।
सडकको किनारमा उभिएर वस्तुस्थिति नियालिरहेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा लागेको थियो । उनको दुवै आँखामा गम्भीर चोट लागेको छ । कार्कीलाई सिभिल अस्पतालमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर लगिएको थियो । हाल उनको तिलगंगा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्