झापा, बैशाख १६ । करिव एक महिनादेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुमाथि प्रहरी दमन भएपछि उनीहरु अझ आन्दोलित भएका छन् ।

काठमाण्डौमा शिक्षकहरुको आन्दोलनमा भएको धरपकड र दमनको विरुद्धमा उनीहरुले झापा जिल्लाभरि प्रदर्शन गरेका छन् । यसक्रममा बिर्तामोडको पश्चिम बस स्टेण्ड अगाडि नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिको आयोजनामा उनीहरुले प्रदर्शन गरेका छन् ।
नेपाल शिक्षक महासंघका बिर्तामोड नगर अध्यक्ष युवराज कट्टेलको नेतृत्वमा करिब ३ सय जना शिक्षकहरु भेला भई काठमाण्डौमा शिक्षकहरुको आन्दोलनमा भएको धरपकड र दमनको विरुद्धमा “सरकार तेरो पाराले दुःख पाए साराले, शिक्षक , कर्मचारी एकता जिन्दावाद, प्रहरी दमन मुर्दावाद, विद्यालय शिक्षा ऐन जारी गर, चाँडोभन्दा चाँडो विद्यालय खोल्ने वातावरण तयार गर, नेपाल शिक्षक महासंघ जिन्दावाद ”जस्ता नाराहरु लगाउँदै प्लेकार्ड बोकेर बिरोध गरेका थिए । उक्त र्याली मुक्ति चोकमा आई कोणसभामा परिणत भएको थियो ।
त्यस्तै शान्तिपूर्ण आन्दोलनका क्रममा शिक्षकहरुमाथि काठमाण्डौंमा भएको धरपकडलाई लिएर अर्जुनधारा नगरपालिका र दमक नगरपालिकामा पनि शिक्षकहरुले प्रदर्शन गरेका छन् ।
अर्जुनधारा–८ शनिश्चरे बजारको मुख्य चोक र दमक–६ स्थित गणतन्त्र चोकमा बिभिन्न नारासहित शिक्षकहरुले बिरोध प्रदर्शन गरेका हुन् ।नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिका अध्यक्ष चन्द्र खत्रीको नेतृत्वमा र्याली निकालिएको थियो ।
यसैगरी दमकमा दमक, गौरादह नगरपालिका, गौरीगञ्ज र कमल गाउँपालिकाको संयुक्त आयोजनामा नेपाल शिक्षक महासंघ दमक नगर समितिका कार्यवाहक अध्यक्ष रघुनाथ भण्डारीको अध्यक्षतामा बिभिन्न नारासहित बिरोध प्रदर्शन गरेका थिए ।
त्यस्तै नेपाल शिक्षक संघ अर्जुनधारा नगर समितिको आयोजनामा २८ वटा विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, बालशिक्षक, शिक्षक आवद्ध संस्थाहरुको सहभागितामा नाराबाजीसहित नगर परिक्रमा गरि शनिश्चरे बजारको जेष्ठ नागरिक चौतारीमा कोणसभामा परिणत भएको थियो ।