झापा, बैशाख १७ । बिर्तामोड नगरपालिका –७ स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गरिएको छ ।

बैशाख ४ गते भएको निर्वाचनबाट कृष्णप्रसाद लिम्बूको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको थियो । नवनिर्वाचित अध्यक्ष लिम्बूलाई निवर्तमान अध्यक्ष बद्री प्याकुरेलले जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
अध्यक्ष मण्डलीका अध्यक्ष केशवराज कार्कीको अध्यक्षता , कन्काई सव डिभिजन कार्यालयका कार्यवाहक प्रमुख सुरेश खनालको प्रमुख आतिथ्य तथा निर्वाचन संयोजक मेदनी सिटौलाको विशेष आतिथ्यमा भएको कार्यक्रममा सपथ ग्रहणसंगै पदभार ग्रहण गराइएको थियो । कार्यक्रमको संचालन निर्वाचन समिति सदस्य टीकाराम खरेलले गरेका थिए ।

सो वन समूहको निर्वाचनमा नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको चारदलीय गठबन्धनको प्यानल नै निर्वाचित भएको थियो ।