झापा,बैशाख १८ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा नेपालमा १५ लाख ८४ हजार स्मार्टफोन आयात भएका छन्।

मोबाइल फोन डिजिटल पहुँचको प्रमुख साधनका रूपमा स्थापित भएसँगै आयात दरमा निरन्तर वृद्धि भएको देखिन्छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरका १५ लाख ८४ हजार ९ सय ५६ वटा स्मार्टफोन आयात गरिएको छ। यसबाट सरकारलाई ४ अर्ब ७३ करोड १५ लाख रुपैयाँ राजस्व प्राप्त भएको भन्सार विभागको तथ्यांक छ।
अघिल्लो महिना १४ लाख ७० हजार ७८ वटा स्मार्टफोन भित्रिए। त्यसका लागि २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ मूल्य तिर्दा सरकारले ४ अर्ब ८५ करोड १ सय ८३ राजस्व प्राप्त गरेको छ। माघमा १२ लाख २९ हजार ९ सय ५७ र पुसमा ११ लाख ११ हजार ५ सय ५६ थान स्मार्टफोन आयात गरिएको छ।
मासिक औसत २ लाख स्मार्टफोन नेपाल भित्रिएको देखिन्छ। धेरैजसो फोन चीनबाट आयात हुने गरेको छ। चैतसम्ममा चीनबाट १५ अर्ब ९४ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबरका ११ लाख ७० हजार ८३ वटा स्मार्टफोन आयात गरिएको छ। यसै गरी भारतबाट २ लाख ९४ हजार ८ सय २२, भियतनामबाट १ हजार २८, जापानबाट ८१६, युएईबाट ६३६ वटा स्मार्टफोन नेपाल भित्रिएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्