झापा, बैशाख १८ । संयुक्त पहिचानवादी मोर्चा झापाको संयोजकमा एलवी पालुङ्वा चयन भएका छन् ।


झापाको बिर्तामोडमा आज भएको मोर्चाको भेलाले पालुङ्वालाई सर्वसम्मतरुपमा संयोजक चयन गरेको हो ।
चार वटा पहिचानवादी पार्टीहरुको एकीकरणपछि संयुक्त पहिचानवादी मोर्चा गठन भएको हो । केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, डा. महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, ज्ञानबहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी र डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको पहिचानका लागि प्रदेश नम्वर १ पुनः नामांकन अभियान समिति एकीकरण भएर संयुक्त मोर्चा तयार भएको हो ।

मोर्चाको सह–संयोजकमा भवानीविक्रम सेलिङ, दिनेश किराती मावो, हरि चौधरी, नीरबहादुर राई, कालिबहादुर खेवाङ, गंगा दुलाल ,संगम खनाल , थीरबहादुर खवास र सदस्य सचिवमा प्रमेश थापा चयन भएका छन् ।
पालुङ्वाको नेतृत्वमा ७९ सदस्यीय झापा जिल्लाको मोर्चा तयार भएको हो । त्यस्तै १३ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । छरिएर रहेका पहिचानवादी शक्तिहरुलाई एकीकरण गर्ने अभिप्रायले जिल्ला नेतृत्व तयार गरिएको संयोजक पालुङ्वाले बताए ।

पहिचानवादी मोर्चाका जिल्ला संयोजक अग्निमाया मेचेको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त पहिचानवादी मोर्चाका संयोजक डकेन्द्र सिंह थेगिमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि थेगिम, नेपाल जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष भक्त खेवाङ, संयुक्त पहिचानवादीका नेता त्रिनारायण राजवंशी, संयुक्त पहिचानवादी मोर्चाका सचिवालय सदस्य खगेन्द्र माखिम, नेपाल जनमुक्ति पार्टीका नेता संजुहाङ पालुङ्वा, ज्ञानवहादुर गुरुङ,नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञानवहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पहिचानवादी मोर्चाका सदस्य सचिव प्रमेश थापा मगरले स्वागत गरेको कार्यक्रमको संचालन जनमुक्ति पार्टी झापा सचिव पदम कन्दङ्वाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्