झापा, बैशाख १९ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ ताप्लेजुङमा दुई समूहबीच कुर्सी हानाहान भएको छ ।जिल्ला अधिवेशनअन्तर्गत सचिवमा कुरा नमिल्दा झडप भएको हो ।


अध्यक्ष मण्डलले एकलौटी नाम घोषणा गरेर हलमा सहभागीलाई ताली बजाउन लगाएको भन्दै बिहीबार राति कुर्सी हानाहान भएको हो । अध्यक्ष मण्डलका सदस्य दीपक धितालका अनुसार शुक्रबार मध्याह्न १२ बजेदेखि सुरु गर्नेगरी बिहीबार राति बन्दसत्र स्थगित गरिएको थियो । तर, शुक्रबार अध्यक्ष मण्डलले बन्दसत्र नगराएपछि र पार्टी कार्यालय नखोलेपछि असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरेर तुरुन्तै प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

राष्ट्रिय युवा संघका उपसचिव नवीन रेग्मी, कोषाध्यक्ष प्रकाश एभेङ र पूर्वजिल्ला कमिटी सदस्य दिलकुमार सुनुवारले विज्ञप्ति प्रकाशित गरी प्रक्रिया बढाउन माग गरेका छन् ।

२०८० माघ २० गते भएको एमाले जिल्ला अधिवेशनमा पनि यसरी नै जबरजस्ती गरेर नाम टाँसिएको उनीहरुले बताएका छन् । ०८० चैतमा भएको पार्टी अधिवेशनमा डम्बरध्वज तुम्बाहाम्फे र बलबहादुर साम्सोहाङबीच प्रतिस्पर्धा भएको थियो ।

तुम्बाहाम्फेको समूह विजयी भएको थियो भने साम्सोहाङ समूह पराजित भएको थियो । त्यसपछि जिल्लामा दुई समूह सक्रिय छन् । तुम्बाहाम्फे समूहका मानिक तुम्बाहाम्फेलाई अध्यक्ष मान्न साम्सोहाङ समूह पनि तयार थियो । उनीहरुले उपाध्यक्षमा आफ्नो समूहका दिलकुमार सुनुवार र सचिवमा प्रकाश एभेङलाई राख्न प्रस्ताव गरेका थिए ।

मानिक समूहले प्रकाशलाई उपाध्यक्ष र डेभिड लिम्बूलाई सचिव बनाउन खोजेपछि विवाद भएको हो । ताप्लेजुङ राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको गृहजिल्ला हो । दशौं जिल्ला अधिवेशनको उद्घाटन थेवे स्वयंले गरेका हुन् । अध्यक्ष मण्डलले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्