झापा,बैशाख २० । झापाको बिर्तामोड ८ स्थित देउनिया खोलाको भेलागुडीमा बिश्रान्ती घाट निर्माण गर्ने उद्धेश्यले लगाइएको श्रीमद्भागवत महापुराणबाट १७ लाखभन्दा बढी रकम संकलन भएको छ ।

गणेश पाञ्चायन मन्दिरको आयोजना तथा बिर्तामोड ८ नं वडा कार्यालय र धार्मिक अनुष्ठान सेवा समाज नेपाल सहआयोजक रहेको महापुराणबाट १७ लाख ४० हजार ८४३ रुपैयाँ संकलन भएको हो । त्यसमध्ये ७ लाख ७० हजार ९८५ रुपैयाँ खर्च भएको पुराण मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

खर्च कटाएर ९ लाख ६९ हजार ८५८ रुपैयाँ बचत भएको र सो रकमबाट विश्रान्ती घाटको निर्माण थालिने पुराण मूल आयोजक समितिका अध्यक्ष बाबुराम पराजुलीले जानकारी दिए । उनले जिन्सी सामानअन्तर्गत ३ क्वीन्टल ३० केजी चामल र ५० केजी चिनी संकलन भएको बताउँदै ती सामान गणेश पाञ्चायन मन्दिरका लागि उपयोग गरिने जानकारी दिए । पुराण मूल आयोजक समितिको बिहीवार बसेको बैठकले बिश्रान्ती घाट निर्माण गर्नका लागि बैठक बस्ने कार्यालय गणेश पाञ्चायन मन्दिरमा रहने र आयोजक गणेश पाञ्चायन मन्दिरको जिर्णोद्धारका लागि १ लाख रुपैयाँ छुट्याउने निर्णय गरेको छ । बैशाख ६ देखि बैशाख १३ गतेसम्म पुराण सञ्चालन गरिएको थियो ।

पुराणबाट संकलित रकमले केही दिनमै विश्रान्ती घाट निर्माण कार्य शुरु गरिने बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताए । उनले त्यसमा आफ्नो वडा कार्यालयको पनि सहयोग रहने जानकारी दिए । अझ धेरै दाता महानुभावहरुले सहयोग गर्ने वचन दिएको वडाध्यक्ष कार्कीको भनाई छ । बिर्तामोड ८ , ७ र ९ नं वडाका बासिन्दाहरुलाई देउनिया खोलामा अन्त्येष्टि गर्न अप्ठयारो परिरहेकाले पुराणमार्फत सबैको सरसहयोगमा विश्रान्ती घाट निर्माण गर्न लागिएको पुराण मूल आयोजक समितिका सचिव अनिल गौतमले बताए । उनले पुराण सम्पन्न भइसकेपछि अब घाट निर्माण समिति गठन गरी निर्माण कार्य शुरु गरिने जानकारी दिए ।

पुराण मूल आयोजक समितिका अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष कार्की , धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनाल, स्थानीय समाजसेवी भद्रप्रसाद चुँडाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पुराण मूल आयोजक समितिका सचिव अनिल गौतमले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्