झापा,बैशाख २१ । राष्ट्रिय सभाका सदस्यहरूले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने माग गरेका छन् ।

साथै त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा उनीहरूले जोड दिएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले केआईआईटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन् ।

आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआइआइटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरे । घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरूमा माओवादीका गङ्गाकुमारी बेल्वासे र नेपाल कम्युनिस्ट पार्टी(एमाले)का सुमित्रा बिसी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्