झापा, बैशाख २२ ।झापाको दमकमा टिपरको ठक्करबाट एक महिला गंभीर घाइते भएकी छन् ।

आज बिहान ९ः१० बजे दमक नगरपालिका वडा न.५ लिङदेन मार्गस्थित पूर्वपश्चिम लोकमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश न.१–०२–००१ क ५२१९ नम्बरको टिपरले पैदलयात्री महिलालाई ठक्कर दिई घाइते बनाएको हो ।

घाइते हुनेमा पैदलयात्री गौरादह नगरपालिका वडा न.४ बस्ने ४८ वर्षीया सिता बर्देवा रहेकी छन् । उनको टाउको र बाँया खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई उपचारको लागि निम्स अस्पताल दमक पठाइएको छ । दुर्घटनापछि टिपर चालक फरार भएकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै आज बिहान अन्दाजी ७ बजे दमक नगरपालिका वडा न.९ अर्नाखाडीमा चिया दोकानबाट अर्नाखाडीतर्फ जाँदै गरेको मे १ क ७८४ नम्बरको टिपरको ढोकाबाट झरेर चालक दमक नगरपालिका वडा न.१ बस्ने ५५ वर्षीय निमा शेर्पा गंभीर घाइते भएका छन् । ढोका नलगाई टिपर चलाइरहेको अवस्थामा चालक शेर्पा टिपरबाट झरेका हुन् । ढाँड र टाउकोमा चोट लागेका घाइतेको आम्दा अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्