झापा, बैशाख २२ । मकालु हिमाल चढ्ने क्रममा एक बिदेशी नागरिकको मृत्यु भएको छ ।

गएराति संखुवासभा मकालु गाउँपालिका २ स्थित मकालु हिमाल चढ्ने क्रममा अमेरिकी नागरिक अन्दाजी ३९ वर्षीय एलेक्स जेन्डर पन्काउको मृत्यु भएको हो । मृत्यु भएको खबर आज दिउँसो हिमालय गाईड्स नेपालद्वारा प्रहरी चौकी मकालुमा प्राप्त भएको हो ।
घटनाका बारेमा थप बुझ्ने कार्य भइरहेको प्रहरी चौकी मकालुले जनाएको छ । ती अमेरिकी नागरिक सोलुखुम्बु जिल्ला हुँदै २७ अप्रिलमा मकालु बेस क्याम्प आएको बुझिएको छ । घटनास्थल प्रहरी चौकी मकालुबाट अन्दाजी ९ दिनको पैदल उत्तरमा रहेको प्रहरीले जनाएको छ ।