झापा, बैशाख २३ । आफूभन्दा जुनियर कर्मचारीलाई कार्यालयभित्रै आवेशमा कुट्ने झापाको भद्रपुरस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सकलाई कार्वाही हुने भएको छ ।

हिजो दिउँसो ४.५७ बजे सातौ तहका पशु चिकित्सक डा. सुजन राईले आफू मातहतका कर्मचारीहरुलाई कुटेका हुन् । उनलाई विभागीय कार्वाही हुने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख शितल भट्टराईले जानकारी दिइन् । ‘ हिजोको घटनाबारे आज बिहान दुवै पक्षबीच प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा छलफल भएको छ ’उनले भनिन्,‘ घटनाको छानबिन गर्न मन्त्रालयको निर्देशनालयको टोली पनि आउँदैछ । ’
पशु चिकित्सक डा. राईले प्राविधिक सहायक पाँचौ तहका रोहित महतलाई कार्यालयभित्रै कुटेका हुन् । भण्डारण कक्ष हेर्ने गरेका महतसंग सिमेन माग्दा यसअघिको पाँच सय रुपैयाँ नतिरेको भनेपछि राईले महतमाथि एक्कासि मुक्का हानेको बताइएको छ ।
दुवैबीचको कुटाकुट छुट्याउन जाँदा चौथो तहका अर्का प्राविधिक दिवाकर सुनरोहित पनि घाइते भएका छन् । राईले हातमा बोकेको हथौडा उनको टाउकोमा लागेको थियो । दुवै घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।