झापा, बैशाख २४ । नेकपा एमालेसंगको चुनावी तालमेलमा असन्तुष्ट बन्दै जिल्ला सहकारी संघ झापाको कार्यालयमा तालाबन्दी र निर्वाचन बहिष्कार गरेका नेपाली कांग्रेस समर्थक सहकारीकर्मीले आज सपथ ग्रहण गरेका छन् ।

जिल्ला सहकारी संघ झापाको आज आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा निर्वाचन बहिष्कार गरेकाहरुले समेत सहभागिता जनाएका छन् । नेपाली कांग्रेसका तर्फबाट सर्वसम्मत भएका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा, महिला उपाध्यक्ष देवी निरौला बस्नेत, महिला सदस्य पुष्पा अधिकारी चम्लागाँई र लेखा समिति सदस्य राजेन्द्रप्रसाद रिजालले सपथ ग्रहण गरेका हुन् ।
बैशाख १३ गतेको निर्वाचन हुन नदिन वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत भएका दुर्गाप्रसाद सापकोटा नेतृत्वको टोलीले अघिल्लो दिन जिल्ला सहकारी संघको कार्यालयमा तालाबन्दी गरेको थियो । तर, निर्वाचन समितिले पूर्वनिर्धारित कार्यक्रमलाई यथावत राख्दै बैशाख १३ गते निर्वाचन कार्यक्रम राखेको थियो । कांग्रेस समर्थक सहकारीकर्मीहरुले निर्वाचन नगराउन चेतावनी दिँदै निर्वाचन बहिष्कार गरेका थिए । त्यसका बावजुद निर्वाचन समितिले निर्वाचन सम्पन्न गराएको थियो ।
एमाले र कांग्रेसले गत चैत २३ गते दुई दलबीच पदको भागवण्डा गर्दै चुनावी गठबन्धन बनाउने सहमति गरेका थिए । एमालेको भागमा अध्यक्ष , खुल्ला उपाध्यक्ष , सचिव , कोषाध्यक्ष , लेखा समिति संयोजक , लेखा समिति सदस्य (महिला), ३ वटा खुल्ला सदस्य , ३ वटा खुल्ला महिला सदस्य , र क्षेत्रगत रुपमा क्षेत्र नं १, ३ र ४ गरी ३ सदस्य परेको थियो । त्यस्तै कांग्रेसको भागमा वरिष्ठ उपाध्यक्ष , महिला उपाध्यक्ष , सहसचिव , क्षेत्रगतरुपमा क्षेत्र नं २ र ५ को सदस्य र लेखा समिति सदस्य परेको थियो । दुईदलीय सहमति अनुसार अध्यक्षमा एमालेका तर्फबाट प्रेमकुमार कोइराला सर्वसम्मत भइसक्दा कांग्रेसको भागमा परेको केही पदहरुमा भने एमाले सहकारीकर्मीहरुले पनि उम्मेद्वारी दिएका थिए ।सहमतिविपरित आफ्नो भागमा परेको सहसचिव र क्षेत्रीय सदस्य पदमा एमालेका तर्फबाट पनि उम्मेद्वारी दर्ता भएपछि कांग्रेसले निर्वाचन बहिष्कार गरेको थियो ।

निर्वाचन समितिका संयोजक देवेन्द्र भण्डारीले जिल्ला सहकारी संघमा निर्वाचित संचालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण गर्नेहरुमा अध्यक्ष प्रेमकुमार कोइराला , वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा , उपाध्यक्ष नारायणप्रसाद भट्टराई , महिला उपाध्यक्ष देवी निरौला बस्नेत , सचिव भवानीप्रसाद दंगाल , सहसचिव टसबहादुर श्रेष्ठ , कोषाध्यक्ष केशव बस्नेत तथा सदस्यहरुमा नारायणप्रसाद गौतम , प्रेमसागर सापकोटा , काशिनाथ घिमिरे , विन्दाकुमारी थापा ,निलाकुमारी दाहाल , पुष्पा अधिकारी चम्लागाँई , संगिता गजुरेल , देवीमाया अधिकारी , युवराज गौतम , हरिकृष्ण अधिकारी , तिलकप्रसाद सिंह राजवंशी र पदम लिम्बू लिङ्देनले सपथ ग्रहण गरेका छन् । त्यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक चुडामणि ओझा तथा सदस्यहरु राजेन्द्रप्रसाद रिजाल र मिलन आचार्यले पनि सपथ ग्रहण गरेका छन् ।
जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि गिरी , नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) का महासचिव घनश्याम अधिकारी , नेपाल कृषि सहकारी केन्द्रीय संघकी उपाध्यक्ष मिनाकुमारी ढकाल , निर्वाचन समितिका संयोजक देवेन्द्र भण्डारी , जिल्ला सहकारी संघका सल्लाहकार संयोजक रामचन्द्र उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कोइरालाले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा निवर्तमान अध्यक्ष गणेश ढकाल , उपाध्यक्ष चम्पादेवी खनाल सुवेदी , सहसचिव कृष्णप्रसाद मिश्र , कोषाध्यक्ष अर्जुन दंगाल , सदस्यहरु कृष्ण पौडेल , ढुण्डीराज गुरागाँई , चन्द्रकला अधिकारी , चन्द्रकला भण्डारी र पुष्पा उप्रेतीलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।
२२ जनाको संचालक समिति र लेखा सुपरीवेक्षण समितिमा एमालेको बहुमत रहेको छ । २२ जनामा कांग्रेसका ४ जना र माओवादीका दुईजना परेका छन् । सत्तारुढ एमाले र कांग्रेसले दुईदलीय गठबन्धन बनाएपनि भित्रीरुपमा एमालेले माओवादीसंग पनि सहमति गरेको थियो ।