बिर्तामोड, बैशाख २४ । बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित अधुवा खोलामा तटबन्ध गरिने भएको छ ।

हरेक वर्ष छठ पुजा आयोजना हुने धिमाल टोल नजिकैको खोला किनारमा तटवन्ध गरिने भएको हो ।
योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बुधवार शिलान्यास गरिन् । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय भद्रपुरको ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत ६६ मिटर क्षेत्रमा व्यवस्थित तटवन्ध गरिने भएको जनाइएको छ । त्यसमध्ये १५ मिटर वडा नम्बर ५ को क्षेत्रमा पर्दछ ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले बिर्तामोडमा अहिले २ अर्बभन्दा बढीका योजनाहरु सञ्चालन भइरहेको बताइन् । उनले बुट्टाबारी– प्याकुरेल चोक सडक, हर्कलाल मार्ग, चन्द्रमार्ग, गोकुल जोशी मार्गलगायतका योजनाहरु नगर, प्रदेश र संघको बजेटबाट सञ्चालन भइरहेको जानकारी दिइन् ।
यस्तै वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले वडा नम्बर १ मा विभिन्न कारणले लामो समयदेखि थाँती रहेको तटवन्ध कार्य सुरु भएको बताए । उनले उपभोक्ता समितिलाई गुणस्तरीय काम गर्न सुझाव दिए।
कार्यक्रममा पूर्व सांसद विमला विक, उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको पनि उपस्थिति रहेको थियो ।