झापा, बैशाख २५ । ग्यास नपाएपछि मेची ग्यासका उपभोक्ताहरु आक्रोशित भएका छन् ।

करिव एक महिनादेखि फ्याक्ट्री मर्मत गरिरहेको मेचीनगर १४ स्थित मेची ग्यास इन्डष्ट्रीले उत्पादन आधा घटाएपछि बजारमा अभाव हुन गई उपभोक्ताहरु समस्यामा परेका हुन् ।

प्रतिदिन २२ सय सिलिण्डर आपूर्ति गर्दै आएको मेची ग्यासले अहिले प्रतिदिन ५ सयदेखि ११ सय सिलिण्डर मात्र बजारमा पठाउने गरेको छ । करिव एक महिनादेखि फ्याक्ट्रीले आधाभन्दा कम ग्यास उत्पादन गरिरहेको कर्मचारी लय सुवेदीले बताए । उनले मर्मत भइरहेका कारण उत्पादन घट्दा फ्याक्ट्री , डिलर र उपभोक्तालाई नै समस्या भइरहेको जानकारी दिए । नयाँ प्लान्ट राख्ने क्रममा उत्पादनमा समस्या आएको उद्योगका संचालक महावीर अग्रवालले बताए । उनले अबको १०–१५ दिनमा साविक परिमाणमा ग्यास उत्पादन हुने जानकारी दिए ।


उपभोक्ताहरुले ग्यास नपाएपछि बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको खनाल स्टोरमा हिजो साँझ विवाद गरेका थिए । विवादलगत्तै पुगेको बिर्तामोड –३ का वडा सदस्य हरि बाँस्कोटासहित प्रहरी टोलीले विवाद साम्य बनाएको थियो । खनाल स्टोरले खातामा नाम लेखाएका उपभोक्ताहरुलाई मात्र दिने भनेपछि विवाद भएको थियो । आफ्ना १२ सय ग्राहक रहेकोमा फ्याक्ट्रीले ४० वटा ग्यास मात्र पठाएपछि बितरणमा समस्या आएको खनाल स्टोरका संचालक श्री खनालले बताए । उनले साविकरुपमा आपूर्ति नभएसम्म समस्या रहिरहने बताए ।

झापामा चारवटा ग्यास उद्योग रहेका छन् । जसमध्ये धेरैले प्रयोग गर्ने मेची ग्यास हो । मेचीसंगै जिल्लामा त्रिशक्ति÷पराजुली , कनकाई र पाथीभरा ग्यास संचालित छन् । त्रिशक्ति÷पराजुली ग्यास भद्रपुर , कनकाई ग्यास उद्योग गौरादह र पाथीभरा ग्यास विर्तामोड–२, चारपानेमा रहेको छ । झापाको जनसंख्यालाई हेर्ने हो भने ४ वटा ग्यास उद्योग अत्यधिक भएको विज्ञ बताउँछन् ।विज्ञहरुले जनसंख्याको आधारणमा ग्यास उद्योगको संख्या धेरै भएको बताएपनि झापामा अन्य विभिन्न जिल्लाबाट ग्यासका सिलिण्डर भित्रने गरेका छन् ।

झापामा मोरङको कोशी र रिजाल ग्यास, सुनसरीको प्रिमा र सुविधा ग्यास खपत हुने गरेको छ । झापाका ४ वटा ग्यास उद्योगमा तयार गरिएको सिलिण्डर झापासहित मोरङ, सुनसरी र पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर, खोटाङलगायतमा खपत हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्