झापा, जेठ १८ । विभिन्न माग राख्दै झापाको गौरादहमा कृषकहरुले आज फेरि दोस्रो पटक चक्काजाम गरेका छन् ।

आज बिहान ९ देखि ११ बजेसम्म गौरादह–८ चन्दन चोकस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा कृषकहरुले दुईघण्टे चक्काजाम गरेका हुन् । जोरपल उच्च कृषक समूहको आयोजनामा जोरपल कृषक समूहका अध्यक्ष इन्द्रप्रसाद पोखरेलको नेतृत्वमा करिब ५० जना स्थानीय कृषकहरुको उपस्थिति रहेको थियो ।
“सरकारले तोकेको मूल्य पाउनुपर्ने, मल, बीउ, विषादि समयमा पाउनुपर्ने, ट्रयाक्टर जोताई दररेट कम हुनु पर्ने र कृषि सिँचाई महशुल पुरै छुट हुनु पर्ने” लगायतका ४ सुत्रीय माग राखी प्लेकार्ड बोकेर “स्थानीय सरकार मुर्दावाद, केन्द्रीय सरकार मुर्दावाद, किसानको माग पुरा गर” जस्ता नारा लगाउँदै चक्काजाम गरेका हुन् । गत साता पनि उनीहरुले चक्काजाम गरेका थिए ।