झापा, जेठ १९ । तीनजनाको मृत्यु भएको इलाममा जंगली च्याउ खाएर फेरि ६ जना विरामी परेका छन् ।

नवलपुर बुलिङटार गाउँपालिका २ घर भई हाल इलाम माईजोगमाई ३ स्थित नयाँ हाईड्रोपावरमा काम गर्नेहरु च्याउ खाएर बिरामी परेका हुन् । आज बिहान १० बजे जंगलबाट टिपेर ल्याएको जंगली च्याउ पकाएर उनीहरुले बिहानको खाना खाएका थिए ।
उनीहरु दिउँसो २ बजे अचानक बिरामी भई बान्ता हुँदा फिक्कल अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । बिरामी सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
बिरामी हुनेहरुमा नवलपुर बुलिङटार २ बस्ने २८ वर्षीय खिम सारु मगर सोही ठाउँ बस्ने १७ वर्षीय गुना सारु मगर ,२४ वर्षीय दिनेश बाच्ने मगर, नवलपुर लक्ष्मीपुर वडा नं.१२ बस्ने भिम १८ वर्षीय सुनिल मगर , २७ वर्षीय मनोज मगर र २२ वर्षीय मनिष बाच्ने मगर रहेका छन् । गत साता इलाममा जंगली च्याउ खाएर इलाम माङसेबुङ ५ लारुम्बा घर भएका तीनजनाको मृत्यु भएको थियो ।