झापा, जेठ २३ । सप्तकोशी नदीमा अभ्यासको क्रममा बेपत्ता दुई गोताखर सशस्त्र प्रहरी अझै भेटिएका छैनन् । खोजी गर्ने क्रममा अर्कै व्यक्तिको शव भेटिएको छ ।

हिजो दिउँसो ३ः१० बजे सप्तरी हनुमाननगर कंकालिनीमाई नगरपालिका १ कोशी व्यारेजस्थित सप्तकोशी नदीमा मधेश प्रदेश सरकार गृह संचार तथा कानुन मन्त्रालयको कार्यक्रम अनुसार भोलि हुने मनसुनजन्य विपदको पूर्वतयारी स्वरुप प्रदेश स्तरीय विपद सेमुलेशन अभ्यास भइरहेको थियो । त्यसका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय नं.६ गण सप्तरी र नं. ७ गण सिरहाबाट गरी जम्मा ५६ जनाको संयुक्त टोलीले बिहान ७.४५ बजेदेखि अभ्यास सुरु गरेको थियो । अभ्यासको क्रममा दुईजना सशस्त्र प्रहरी बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. १ गण हे.क्वा. इलाम दरबन्दी भई दन्तकाली बिशेष कार्य तालिम शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी जवान हरिदेव राजवंशी र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा दरबन्दी भई नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटिएका सशस्त्र प्रहरी जवान सुरज साउद रहेका छन् ।

यसैबीच सप्तकोशी नदीमा अभ्यासका क्रममा डुबेर बेपत्ता भएका दुई जना सशस्त्र प्रहरी जवानको खोजी भइरहेको बेला अर्का एक पुरुषको शव फेला परेको छ । हिजो दिउँसो ४ बजे सो शव फेला परेको हो । उनको तत्काल पहिचान खुल्न नसके पनि संखुवासभा भोटेखोला गाउँपालिका–५ लुमसुनका ३५ वर्षीय राजेश राईको शव भएको उनकी बहिनी कमला राईले इलाका प्रहरी कार्यालय भारदहलाई पुष्टि गरेकी छन् । सो शब सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ अन्तर्गत कोशी ब्यारेजको ढोका नं. ५४, ५५ र ५६ क्षेत्रको उत्तरपट्टि पानीमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्