झापा, जेठ २३ । झापामै नक्कली नोट छाप्ने गरेको पत्ता लागेको छ ।

झापाको कनकाई नगरपालिका– ८ लक्ष्मीपुरमा कोठा भाडामा लिई एक व्यक्तिले नक्कली नोट छाप्ने गरेको खुल्न आएको हो । काँकडभिट्टाबाट नक्कली नोटसहित पक्राउ परेका तेह्रथुम फेदाप गाउँपालिका वडा नं २ ओयाक्जुङ बस्ने २८ वर्षीय गणेश भारतीले कोठा भाडा लिएर नक्कली नोट छाप्ने गरेको थप अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गत जेठ १८ गते काँकडभिट्टास्थित नेपाल बैंक अगाडिबाट प्रहरीले भारतीलाई नक्कली एक लाख रुपैयाँसहित पक्राउ गरेको थियो । कनकाई नगरपालिका– ८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका भारतीको साथबाट १ हजारका १ सय थान नक्कली नोट बरामद भएको थियो ।
सो घटनामा झापा प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने क्रममा उनले नक्कली नोट आफैले छपाई गरी चलाउने गरेको खुलेको छ । प्रहरी निरीक्षक राजकुमार कार्की समेतको अनुसन्धान टोलीले लक्ष्मीपुरस्थित कोठामा तलासी गर्दा थप नक्कली नोटहरू फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार विभिन्न दरका नेपाली नक्कली (खोटा मुद्रा) ५ लाख ३० हजार ६ सय ८० रुपैयाँसहित नोट छाप्ने गरेको मेसिन , नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङ्ग लगायतका प्रमाणहरू बरामद गरिएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । खड्काका अनुसार १ हजार दरका नक्कली (खोटा मुद्रा) ४७० थान, ५ सय दरका २८२ थान, १ सय दरका १९० थान, ५० दरका १२ थान र २० दरका ४ थान बरामद गरिएको छ । १ थान प्रिन्टिङ मेसिन, ३ थान मोबाइल, १ थान कैँची, नोट बनाउन प्रयोग भएको कागज कपी २ थानसमेत बरामद भएको छ ।