झापा, जेठ २३ । झापामा ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।

भद्रपुरस्थित मेची पुलमा लागूऔषध ब्राउनसुगरसहित एक जना युवा पक्राउ परेका छन् भने दुई जना फरार भएका छन् । बिहीबार भद्रपुर नगरपालिका–५ मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–२ का २९ वर्षीय सञ्जय चौधरी ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
चौधरीसहित तीन युवालाई सोधपुछ गर्नका लागि रोक्न खोज्दा बिर्तामोड–२ का अन्दाजी ४० वर्षीय लोकराज राजवंशी र अन्दाजी २८ वर्षीय गणेश राजवंशी भारततर्फ भागेका हुन् ।
प्रहरीले चौधरीको साथबाट प्लाष्टिकसहित ३ ग्राम २२० ब्राउनसुगर बरामद गरेको छ । चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र फरार रहेका दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै हिजो साँझ ब्राउनसुगरसहित गौरादहमा दुईजना पक्राउ परेका छन् ।
साँझ ७ः३० बजे गौरादह नगरपालिका वडा नं. १ गौरादहस्थित सुजन कन्दङ्वाको डेराबाट १ ग्राम ब्राउनसुगरसहित गौरादह नगरपालिका वडा न. १ गौरादह बजार बस्ने २९ वर्षीय सुजन कन्दङ्वा र कमल गाउँपालिका वडा न. सोलमारी बस्ने २० वर्षीय आयुष बिश्वकर्मा पक्राउ परेका हुन् ।
उनीहरुलाई पक्राउ गरी लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।