झापा,जेठ २९ । अत्यधिक गर्मी भएर झापाका विभिन्न पालिकाहरुले विद्यार्थीहरुलाई गर्मी विदा दिएपछि पानी परेको छ ।

बिर्तामोड, दमक र भद्रपुर नगरपालिका तथा झापा, बाह्रदशी र कमल गाउँपालिकाले दुई दिनका लागि गर्मी विदा दिएका हुन् । कमल गाउँपालिकाले हिजो बुधवारदेखि दुई दिने विदा दिएको हो भने अरु पाँचवटा पालिकाले आजदेखि विदा दिएका हुन् । तर, हिजो नै पानी परेपछि गर्मी केही हदसम्म घटेको छ ।
एक अभिभावकका अनुसार मौसम विभागको रिपोर्ट हेरेर विदा दिइनु पथ्र्यो । झापामा हिजो दिउँसोदेखि रातिसम्म पानी परेपछि जिल्लावासीलाई राहत महसुस भएको छ । केही दिनदेखि झापासहित देशभर अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको थियो ।
गर्मीले बाहिर तातो हावा चलेपछि मानिसहरुले विशेष कामबाहेक घरबाट निस्किनै छाडिसकेका थिए । गर्मीका कारण इलेक्ट्रोनिक्स पसलहरूमा पंखा, एसी, कुलर किन्नेको भीड लागेको थियो ।
मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेको छ। अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताए।
मौसमविद् लामिछानेले पछिल्लो केही घण्टामा काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको जानकारी दिए।
यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहनेछ। जसकारण बिहीबार र शुक्रबारको तापक्रममा गिरावट आउने पनि उनले बताए।