झापा, असार ५ । गत जेठ महिनामा झापामा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भयो । त्यसमध्ये दुईजनाले पूर्वपश्चिम राजमार्गमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनकै कारण ज्यान गुमाउनु पर्यो ।

गत जेठ २४ गते झापाको कमल गाउँपालिकामा रहेको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु भयो ।
कमल गाउँपालिका ३ सानो केर्खास्थित पूर्वपश्चिम राजमार्गको डाइभर्सनमा प्र.१–०२–००५२प. ७०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा मोरङ कानेपोखरी गाउँपालिका ४ बस्ने हाल इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत ४८ वर्षीय सशस्त्र प्रहरी नायव निरीक्षक(सई) पुरनलाल राजंवशीको मृत्यु भएको हो ।
त्यस्तै गत जेठ १३ गते झापाको मेचीनगर नगरपालिका वडा न.१४ धाइजन चोकस्थित पूर्वपश्चिम राजमार्गको डाइभर्सनमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प. ५१५२ न.को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ ख. ४७११ न.को ट्रकले साइडबाट ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार बुद्धशान्ति ५ बस्ने २२ वर्षीया आकृति दनुवारको मृत्यु भयो ।
त्यस्तै गत जेठ ३१ गते मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी सहायक हवल्दारको मृत्यु भयो भने उनका श्रीमती र छोरा गम्भीर घाइते भए ।
पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय इलाम दरबन्दी भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार बेलबारी नगरपालिका–४ निवासी ३१ वर्षीय जितेन्द्र चौधरीले चलाएको प्र. १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाइभर्सनमा दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा चौधरीकी २६ वर्षीया श्रीमती प्रहरी चौकी साखेजुङ रक्से इलाम दरबन्दी भई प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान बिमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते भएका थिए ।
त्यस्तै गत जेठ ५ गते कोशी प्रदेशका चारजना सांसद चढेको कार डाइभर्सनमै दुर्घटनामा पर्यो ।
उक्त कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ स्थित डाइभर्सनमा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले चलाएको कारसँग ठोक्किएर दुर्घटना भएको थियो ।
यी केही उदाहरण मात्र हुन् । पूर्वपश्चिम राजमार्गमा रहेका डाइभर्सनका कारण दुर्घटना बढेको छ । डाइभर्सनका कारण दुर्घटना बढ्नुका साथै यात्रा जोखिमपूर्ण बनेको ट्राफिक प्रहरीहरु बताउँछन् । अधिकांश दुर्घटना डाइभर्सनका कारण हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
डाइभर्सनका कारण दुर्घटना बढेपछि त्यसप्रति जिल्ला प्रशासन कार्यालयले काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) आयोजनाको ध्यानाकर्षण गराएको छ । बुधवार भएको छलफलमा डाइभर्सनका कारणले दुर्घटना बढेकोले त्यसप्रति ध्यानाकर्षण गराइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनले डाइभर्सन भएको ठाउँमा खतराको संकेत बनाई चम्किने (रिफ्लेटिङ) खालको बोर्ड राख्न आग्रह गरिएको जानकारी दिए । उनले जतिसक्दो छिटो डाइभर्सन हटाउन भनिएको बताए ।
पूर्वी खण्डको तीन ठाउँमा निर्माण सम्पन्न नहुने भएपछि डाइभर्सन हटाउन नसकिने काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) आयोजनाका प्रमुख सुनिलबाबु पन्तले बताए । उनले काली खोला , भालु खोला र चारआलीको हात्ती पासमा तत्कालै निर्माण कार्य सम्पन्न नहुने जानकारी दिए ।
उनले डाइभर्सनकै कारण सवारी दुर्घटना नभएको दावी गरे । बाटो बिग्रेको थाहा हुँदाहुँदै अत्यधिक तीब्र गतिमा र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढेको धारणा राखे । उनले डाइभर्सन भएको ठाउँमा सांकेतिक बोर्डहरु अझ थपिने जानकारी दिए ।