झापा, असार १२ । प्रहरी हिरासत र कारागार भरिसके । प्रहरीले लागूऔषध पक्राउ गरेको समाचार लेख्दा लेख्दा पत्रकारहरु थाकिसके । झापामा प्रहरीले प्रायः दिनहुँ लागूऔषध र त्यसमा संलग्नलाई पक्राउ गरिरहँदा समस्या घट्नुको साटो अझ बढ्दै गएको छ ।

विगतको तुलनामा झापामा लागूऔषधको प्रयोग र कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८०–०८१ मा लागूऔषधसम्बन्धी २९७ वटा मुद्धा दर्ता भई ४६२ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षको ११ महिनाको अवधि जेठ मसान्तसम्म ३०७ वटा मुद्धा दर्ता भई ४७१ जना पक्राउ परेका छन् ।
मुद्धा दर्ता र पक्राउ संख्या मात्र बढेको छैन , बरामद लागूऔषधको परिमाण पनि बढेको छ । गत वर्ष गाँजा २८ केजी ६०२ ग्राम १०० मिलिग्राम , ब्राउनसुगर २ केजी १७४ ग्राम १९५ मिलिग्राम, कोडिन फोस्फेट ३० बोतल , ओनेरीक्स कफ सिरप १ बोतल , एस्कफ १० बोतल , नाइट्रभेट –१० ६८७ ट्याब्लेट , लाइकोरेक्स ७ बोतल , नाइट्रोसन १०५४ ट्याव्लेट ,नाइट्राजेपाम ६८ ट्याब्लेट ,क्यारोडपास ८ ट्याब्लेट , ट्रामाडोल १२५० ट्याब्लेट ,स्पास्रेस्ट १९० ट्याब्लेट , डाइजेपाम एम्पुल थान ४७ ,फेनेरगन एम्पुल थान ४६ र लेभल तथा नाम नभएको १६० एम्पुल लुपिजेसिक १७ एम्पुल, एभिल २७ एम्पुल एप्पोट एम्पुल बरामद भएको थियो ।
यस वर्ष ब्राउनसुगर २०९६ ग्राम ४४५ मिलिग्राम , गाँजा १६५० केजी १४९ ग्राम ६४० मिलिग्राम , चरेश १ ग्राम ५६० मिलिग्राम , ट्रामाडोल २१४५१ ट्याब्लेट , एन्टीकफ २२८६० ट्याब्लेट , टीरसन १६४ ट्याब्लेट , कोलिबन १५४ ट्याब्लेट , डिकोलिक ६७ ट्याब्लेट , स्पास्पेन १९४०३ ट्याब्लेट,लोराजेपाम ३६१ ट्याब्लेट , डिसाइक्लोमिन ८१० ट्याब्लेट ,डिकोलिक ४२० ट्याब्लेट , नाइट्राक्रस ९६ ट्याब्लेट ,पास्पेन १३० ट्याब्लेट , डाइजेपाम ९ एम्पुल , फेनारगन ९ एम्पुल र लेवल नभएको ३ एम्पुल , ट्रामोल ५० लेखिएको २ हजार क्याप्सुल , एन्टीकफ लेखिएको २ हजार ट्याव्लेट , नाइट्राजेपाम १०० ट्याव्लेट र स्कफ २ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको त्रिवर्षीय तथ्यांक अनुसार ब्राउनसुगर बरामद घटना बढिरहेको देखिन्छ। आर्थिक वर्ष २०७९÷०८० मा एक हजार ५५८ ग्राम ४५९ मिलिग्राम, २०८०–०८१ मा दुई हजार १७४ ग्राम १९५ मिलिग्राम र चालु आर्थिक वर्षको असार ११ गतेसम्म दुई हजार ५ ग्राम १६५ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरी उपरीक्षक राजन लिम्बूले बताए ।
भरिया समाउँदै प्रहरी , डिलर सुरक्षित
देशकै ट्रान्जिट पोइन्ट बनेको झापामा लागूऔषध कहाँबाट भित्रिन्छ भनेर प्रहरी प्रशासनलाई पूर्णरुपमा जानकारी छ । सीमा नाकाबाट थोरै पर्तिर पानीट्यांकी , गलगलिया , दिघलबैंकजस्ता सीमावर्ती भारतीय बजारहरु नेपालमा लागूऔषध भित्र्याउने आपूर्ति केन्द्र हुन् । जुन ठाउँमा खुलेआम लागूऔषध बिक्री हुन्छ ।
त्यहीबाट नेपालमा लागूऔषध भित्र्याइरहँदा प्रायः गरेर भरिया मात्र पक्राउ पर्ने गरेका छन् । यदाकदा एकाध कारोबारीबाहेक भरिया मात्र पक्राउ पर्नुले प्रहरीको डिलरसम्म पहुँच पुग्न नसकेको हो कि प्रहरीले नै पक्राउ गर्न नखोजेको जस्ता सवालहरु उठ्ने गरेका छन् । ठूला कारोबारी वा डिलर पक्राउ परेको खण्डमा मात्र लागूऔषधको कारोबार न्यूनीकरण हुनसक्ने देखिएको छ ।
तर प्रहरीले भरियासंगै कारोबारी पनि पक्राउ गर्न सफल भएको दावी गरेको छ । केही दिनयता निजी गाडीमा लागूऔषध भित्र्याउने ६ जना कारोबारीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक लिम्बूले बताए ।
लागूऔषधप्रति बेमतलब जनप्रतिनिधि
झापासहित सिंगो देशकै लागि लागूऔषध समस्या बनिरहँदा आपराधिक समस्या भन्दै जनप्रतिनिधिहरु पन्छिदै आएका छन् । घर–घर र टोल–टोलको सामाजिक समस्या बनिसकेको लागूऔषधप्रति तीनै तहका संघीय , प्रदेश र स्थानीय सरकार गंभीर बनेका छैनन् ।
विकराल समस्या बनेको झापामा स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट ल्याइरहँदा कुनै पनि पालिकाले लागूऔषध न्यूनीकरणका लागि ठोस कार्यक्रम ल्याएनन् । प्रहरी प्रशासनसंग मिलेर लागूऔषधविरुद्धको दिवस मनाउने र सचेतना फैलाउनेबाहेकका कार्यक्रम ल्याएको देखिएको छैन । अति समस्याग्रस्त बिर्तामोड नगरपालिकाले विविध शीर्षकमा प्रहरीसंग मिलेर सचेतना कार्यक्रम मात्र गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।