झापा, असोज ९ । चैत १५ गते राजधानीमा हिंसात्मक प्रदर्शन गराएको आरोपमा तत्कालीन ओली सरकारद्वारा दुर्गा प्रसाई झापामा पक्राउ परे । करिव पाँच महिनाको जेल जीवनपछि रिहा भएर गृहजिल्लामा प्रसाईले गर्जिरहँदा यतिबेला केपी ओली घर न घाटको जस्तै भएका छन् ।

कारागार मुक्त भएपछि पहिलो पटक झापा आएका राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक प्रसाईले हिजो बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै अधिकांश समय ओलीलाई नै गाली गरिरहे । उनले आफूलाई पाँच महिना अगाडि केपी ओलीको सरकारले आफूलाई यसै ठाउँबाट हत्कडी लगाएर लगेको स्मरण गर्दै आज नागरिकले आफूलाई यसै ठाउँमा सम्मान गरिरहँदा ओली लुकेर हिड्ने अवस्था आएको बताए ।
बीएण्डसी अस्पतालका संचालकसमेत रहेका प्रसाईले केपी ओली, शेरबहादुर र प्रचण्डको घर र पैसा जलेर खरानी हुनुका साथै यिनीहरु अब राजनीतिक सुकुम्बासी भएको टिप्पणी गरे । आफू जेलभित्र हुँदा ओलीले बीएण्डसी अस्पतालको खाता रोकेको , आफ्ना श्रीमती र छोरीलाई समेत पक्राउ पुर्जी जारी गरेर अत्याचार गरेको संझिदै उनले बदलाको भाषामा भने, ‘यसको हिसाबकिताब एकदिन हुन्छ।’
कम्युनिस्टहरु उद्गम थलो झापाबाट कम्युनिस्टहरु सकिएको उनको दावी थियो । २० लाखभन्दा मुनिको ऋण आफू मिनाहा गराउने र लिलाम भएका घर जग्गा फिर्ता गर्ने भन्दै उनले साथ दिन आग्रह गरे ।
आफूलाई प्रधानमन्त्री बन्न प्रधान सेनापतिले आग्रह गरे पनि बिदेशी डिजाइनमा बन्ने प्रधानमन्त्री नखाने जवाफ दिएको प्रसाईले दावी गरे ।
‘अहिलेको सरकार पश्चिमाहरुको इशारा बनेको र अब देशलाई पश्चिमाहरुले केहि समयको लागि हाईज्याक गर्छन् ’ उनले भने,‘ अबको समय दुर्गा प्रसाईंको हो, जेनजी आन्दोलनको नाममा बच्चाहरुलाई चरा मारेजस्तै मारेर स्थापित भएको पश्चिमाहरुको सत्ता धेरै समय टिक्दैन ।’ उनले दशै, तिहार र छठपछि आफूले आन्दोलनको घोषणा गर्ने जानकारी दिएका छन् ।




