झापा, असोज २० । युवाहरूको सीप, ज्ञान र नेतृत्व क्षमताको खोजी गर्दै, आगामी दिनमा जूनियर वीरता जेसीज बिर्तामोडले अझ विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ।

जूनियर जेसीज अध्यक्ष अस्मित गोसाईले भने, “हामीसँगको ठूलो सम्पत्ति भनेको मानव क्षमतामा रहेको लगानी हो, त्यसलाई अझ प्रभावकारी बनाउन नयाँ कार्यक्रमहरू आवश्यक छन्।” जेसीज भनेको युवामा भएको नेतृत्व र व्यक्तित्व विकास गराउने संस्था हो। जेसीजलाई “ट्रेनिङ विश्वविद्यालय” भनेर पनि चिनिन्छ। यही भावना र उद्देश्यलाई अघि बढाउँदै,वीरता जूनियर जेसीजले सदस्यहरूका लागि निरन्तर सिकाइ र विकासका अवसर प्रदान गर्ने उद्देश्यले यस्ता प्रशिक्षणमुखी कार्यक्रमहरू नियमित रूपमा अगाडि बढाउने भएको हो ।
यसअघि पनि वीरता जूनियर जेसीज समुदायमा युवामुखी कार्यक्रम र सामाजिक चेतनामूलक अभियानहरूमा सक्रिय रहँदै आएको छ । संस्थाले यसअघि शैक्षिक मेला , जुनियर जेसीज गोट ट्यालेन्ट, र क्यारियर काउन्सिलिङ सेसन जस्ता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ । साथै, संगठनले व्यक्तिगत, सामुदायिक, व्यवसायिक र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा केन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस्तै, वीरता जुनियर जेसीजले चाँडै नै एक ऐतिहासिक कार्यक्रम ः “मुख्य परियोजना“ ल्याउन लागेको जानकारी समेत उनले दिए ।
यस घोषणासँगै वीरता जुनियर जेसीजका सदस्य तथा विद्यार्थीहरुमा निकै उत्सुकता बढेको छ । स्थानीय तहदेखि शैक्षिक संस्थासम्म यस आगामी कार्यक्रमबारे चासो व्यक्त गर्न थालेका छन् । हालै सम्पन्न नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनमा जूनियर वीरता जेसीज बिर्तामोडका अध्यक्ष अस्मित गोसाईले “सर्वश्रेष्ठ उदाउँदो अध्यक्ष” पुरस्कार प्राप्त गर्न सफल भएका थिए।