झापा, असोज २६ । ‘श्रम संस्कृति पार्टी’ खोल्न लागेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्नो संगठन विस्तार गर्न झापा आउने भएका छन् ।

भोलि मेचीनगरमा हुने कार्यक्रममा उनी सहभागी हुने भएका हुन् । स्वतन्त्र नागरिक समाज बिर्तामोडले भोलि बिहान ११ बजे मेचीनगर नगरपालिका –६ काँकडभिट्टास्थित सामुदायिक भवनमा कार्यक्रम गर्न लागेको हो । जसको प्रमुख अतिथि मेयर साम्पाङ रहने छन् ।
स्वतन्त्र भएर मेयरमा जितेका हर्क साम्पाङलाई सहयोग गर्ने गरी केही महिनाअघि बिर्तामोडमा हिमालयप्रकाश कन्दङवाको अध्यक्षतामा सो संस्था स्थापना भएको थियो । साम्पाङले राजनीतिक दल खोल्न लागेको अबस्थामा पुरै संस्था समाहित हुने विषयमा जिज्ञासा राख्दा समाजकी कोषाध्यक्ष ससिता राईले इच्छा हुनेहरु पार्टीमा जाने र इच्छा नहुनेहरु नजाने बताइन् ।




