झापा, असोज २६ । सुन तस्करीका आरोपित पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो । गत वर्षको ९ चैतमा जिल्ला सरकारी वकिलको कार्यालयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आरोपित महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो ।चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
विद्युतीय चुरोट (भेप)मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट सिलसिलेवार रुपमा उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो । महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको थियो ।
भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर, सत्ता–शक्ति आडमा उनीमाथि मुद्दा चलेको थिएन ।
अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले किटान गरेर प्रतिवेदन तयार पारिसकेको छ ।
सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ । ८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ ।




